२०८३ जेष्ठ ३१ गते, आईतवार १४:०३

नेपालले भारतको सीमा कहाँ मिचेको छ, प्रधानमन्त्रीले प्रमाण दिनुपर्छ : अध्यक्ष यादव

वीरगन्ज

जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संसदमा बजेट प्रस्तुत भएपछि करका दरमा हेरफेर गरेर सरकारले गल्ती गरेको धारणा व्यक्त गर्नुभएको छ।

रिपोर्टर्स क्लब पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसदमा बजेट प्रस्तुत भएपछि संसदीय प्रक्रियाअनुसार संसदकै जानकारीमा करका दरमा हेरफेर गरिने परम्परा भए पनि अर्थमन्त्रीले त्यसो नगरी गल्ती गरेको बताउनुभयो।

करका दरमा भएको हेरफेरबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले संसदमै दिनुपर्ने उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालले पनि भारतको भूमि मिचेको भन्ने दाबीको तथ्य प्रधानमन्त्रीले संसदमा प्रस्तुत गर्नुपर्ने माग गर्नुभयो। उहाँले आफू दुई–दुई पटक उपप्रधान तथा परराष्ट्रमन्त्री भइसके पनि नेपालले भारतको भूमि कहाँ मिचेको छ भन्ने जानकारी नभएको बताउनुभयो। साथै, भारतले पनि आजसम्म नेपालले आफ्नो भूमि मिचेको दाबी नगरेको उहाँको भनाइ थियो।

“प्रधानमन्त्रीले संसदमै नेपालले भारतको भूमि मिचेको दाबी गर्नुभएको छ भने त्यसको सत्यता पुष्टि गर्ने तथ्य र प्रमाण संसदमा प्रस्तुत गर्नुपर्छ। यो हाम्रो माग पनि हो,” उहाँले भन्नुभयो।

आफू परराष्ट्रमन्त्री रहँदा भारतका मन्त्री तथा उच्च अधिकारीहरूसँग धेरै बैठकमा सहभागी भएको उल्लेख गर्दै यादवले न त भारतीय मन्त्रीहरूले, न त भारतीय कर्मचारीहरूले नेपालले भूमि मिचेको दाबी गरेको स्मरण गर्नुभयो। त्यसैले प्रधानमन्त्रीले संसदमा गरेको दाबीको आधार र प्रमाण सम्पूर्ण देशले हेर्न चाहेको उहाँले बताउनुभयो।

त्यसैगरी, राष्ट्रीय मानव अधिकार आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन त्रुटिपूर्ण रहेको दाबी गर्दै अध्यक्ष यादवले भदौ २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आम नेपाली जनतासामु ल्याउन सरकारसँग आग्रह गर्नुभयो।

मानव अधिकार आयोगले भदौ २३ गतेका घटनालाई मात्र समेटेर अध्ययन गरेको र भदौ २४ गते के भयो, कसरी भयो भन्ने विषयमा छानबिन नगरी दिएको राय अपूर्ण र त्रुटिपूर्ण रहेको उहाँको भनाइ थियो। त्यसैले सरकारले भदौ २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उहाँले माग गर्नुभयो।

पत्रकार सम्मेलनमा मधेस प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्वमुख्यिमन्त्री जितेन्द्र सोनल, पार्टीका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस