२०८३ जेष्ठ ३१ गते, आईतवार १८:२५

विराटनगरको होटलमा मृत फेला परेका भारतीय नागरिक पटना गोलीकाण्डका मुख्य अभियुक्त ‘प्रिन्स यादव’ रहेको खुलासा

विराटनगर

विराटनगरको एक होटलमा गत बिहीबार मृत फेला परेका व्यक्ति भारतको बिहारस्थित चर्चित पटना गोलीकाण्ड तथा ‘खान ग्लोबल स्टडिज’ तोडफोड घटनाका मुख्य अभियुक्त प्रिन्सकुमार यादव रहेको खुलेको छ।

विराटनगर–१० स्थित शुभ होटलको कोठामा बिहीबार उनी मृत फेला परेका थिए। मोरङ प्रहरीका अनुसार उनी केही दिनदेखि सोही होटलमा बस्दै आएका थिए। यादवसँगै होटलमा बसेका अन्य चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

‘खान सर काण्ड’ का फरार अभियुक्त

मृतक यादव भारतको बिहारमा चर्चित ‘खान सर काण्ड’ का मुख्य आरोपी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत जुन २ मा पटनास्थित रोशन आनन्दले सञ्चालन गरेको ‘ज्ञान बिन्दु कोचिङ’ र चर्चित शिक्षक खान सरको ‘खान ग्लोबल स्टडिज’ बिच विवाद भएको थियो। सोही विवादका क्रममा खान ग्लोबल स्टडिजमा तोडफोड, झडप र गोली चलेको थियो।

उक्त घटनाको नेतृत्व यादव आफैँले गरेको आरोपमा भारतीय प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजी गरिरहेको थियो। मृतक यादव ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका भाइ हुन्। उनी उक्त संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारीमा सक्रिय रहँदै आएका थिए।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोवित कट्टुवालका अनुसार भारतमा मुद्दा दर्ता भएपछि यादव पक्राउबाट बच्न नेपाल आएका थिए। नेपाल आएपछि उनी विराटनगरको बसपार्क क्षेत्र आसपास लुकिछिपी बस्दै आएको खुलेको छ। होटलको रेकर्ड (विवरण) मा भने उनले आफू उपचारका लागि नेपाल आएको उल्लेख गरेका थिए।

मृत्यु रहस्यमय, अनुसन्धान तीव्र

होटलको कोठामा यादव मृत फेला परेपछि घटनालाई प्रहरीले गम्भीरताका साथ लिएको छ। मृत्युको कारण अझै स्पष्ट नभइसकेकाले घटना रहस्यमय देखिएको भन्दै प्रहरीले सबै पक्षबाट सुक्ष्म अनुसन्धान अघि बढाएको छ।

प्रहरीले मृतकका परिवारजनलाई घटनाबारे जानकारी गराइसकेको र कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाउने तयारी भइरहेको जनाएको छ। घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिइएका अन्य चार जना भारतीय नागरिकसँग थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस