२०८३ जेष्ठ ३१ गते, आईतवार २०:१४

पत्रकारिताको मर्यादा र क्षमता अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री महतो

वीरगन्ज –

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। सञ्चारकर्मीहरूको हकहित संरक्षण तथा क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने उहाँले स्पष्ट पार्नुभयो।

जनकपुरधामस्थित अन्जनी सुइट्समा आमसञ्चार प्राधिकरणद्वारा आयोजित पत्रकारिता पुरस्कार, छात्रवृत्ति तथा प्रोत्साहन सम्बन्धी कार्यविधि छलफल एवं सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री महतोले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो। पत्रकारितालाई व्यावसायिक, उत्तरदायी र जनमुखी बनाउन प्रदेश सरकारले नीतिगत तथा संस्थागत सुधारमा जोड दिइरहेको उहाँको भनाइ थियो।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको आमसञ्चार प्राधिकरणले आयोजना गरेको उक्त कार्यक्रम प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, केन्द्रीय सदस्य राजेश कर्ण, मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा तथा पूर्व अध्यक्ष दीपेन्द्र चौहानलगायतले पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणका विषयमा धारणा व्यक्त गर्नुभएको थियो।

सो अवसरमा मधेश प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासंघका वर्तमान तथा पूर्व सभापतिहरूलाई सम्मान गरिएको थियो। मन्त्री महतोले दोसल्ला ओढाएर सम्मान गर्नुभएको उक्त कार्यक्रममा पर्सा शाखाका वर्तमान अध्यक्ष ओमप्रकाश खनालसहित पूर्व अध्यक्षहरू शंकर खतिवडा, शत्रुघ्न नेपाल, दीपेन्द्र चौहान, के.सी. लामिछाने र श्याम बञ्जारा सम्मानित हुनुभएको थियो।

कार्यक्रममा पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि आमसञ्चार प्राधिकरणले तयार पारेको नयाँ कार्यविधिबारे सरोकारवालाहरूबीच विस्तृत छलफल समेत भएको थियो। कार्यक्रमको सञ्चालन प्राधिकरणका प्रशासकीय अधिकृत सन्तोष साहले गर्नुभएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस