२०८३ जेष्ठ ३१ गते, आईतवार २१:०९

कारबाही गर्न नेपाल पत्रकार महासंघ मधेश प्रदेशको माग, घटनामा संलग्नको खोजी कार्य तीव्र बनाइएको प्रहरीको दाबी

वीरगन्ज ।

वीरगन्जका तीन जना सञ्चारकर्मीमाथि भएको आक्रमण तथा लुटपाट घटनाका दोषीमाथि अविलम्ब कारबाही गर्न नेपाल पत्रकार महासंघ मधेश प्रदेशले माग गरेको छ।

महासंघका सचिव दीप गौतमले आइतबार विज्ञप्ति जारी गर्दै गत शुक्रबार राति वीरगन्जका सञ्चारकर्मी सञ्जय कुशवाहा, रवि वर्णवाल र रुस्तम देवानमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई तत्काल कानुनको दायरामा ल्याउन माग गर्नुभएको हो।

विज्ञप्तिअनुसार कार्यालयको काम सकेर घर फर्किने क्रममा १०–१२ जनाको समूहले सञ्चारकर्मीहरूलाई घेरी कुटपिट गर्नुका साथै उनीहरूसँग रहेका मोबाइल फोन लगायतका सामग्री लुटपाट गरेको घटनाप्रति महासंघ गम्भीर रहेको जनाएको छ।

सचिव गौतमद्वारा जारी विज्ञप्तिमा समाचारप्रति चित्त नबुझे कानुनी उपचारको बाटो हुँदाहुँदै त्यसको प्रयोग नगरी सञ्चारकर्मीमाथि आक्रमण गर्नु गलत भएको उल्लेख गरिएको छ। महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

यसैबीच, वीरगन्ज–१० आदर्शनगरमा भएको उक्त घटनाका सम्बन्धमा वडा प्रहरी कार्यालय बिर्ताले पनि आइतबार विज्ञप्ति जारी गर्दै दोषीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको उल्लेख छ। सञ्चारकर्मीहरूमाथि भएको भौतिक आक्रमणलाई प्रहरीले अत्यन्त संवेदनशील रूपमा लिँदै घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई गति दिएको जनाएको छ।

पीडित सञ्चारकर्मीहरूले पशुपति यादवलगायतका व्यक्तिविरुद्ध दिएको किटानी जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान तथा खोजी कार्यलाई तीव्र पारिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस