वीरगन्ज-
बारा–पर्सासहित तराईका अधिकांश जिल्लामा यतिबेला भीषण गर्मी परेको छ। जलवायु परिवर्तनको प्रभाव र समयमै वर्षा नहुँदा तापक्रम निरन्तर बढ्दै गएको छ।
असारको पहिलो साता सुरु भइसक्दा पनि पर्याप्त वर्षा नभएका कारण दिनप्रतिदिन तापक्रम बढिरहेको छ। बढ्दो तापक्रमको सबैभन्दा बढी असर बालबालिका, वृद्धवृद्धा तथा कडा शारीरिक श्रम गर्ने वर्गमा परेको छ। अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिका बिरामी पर्न थालेका छन् भने रिक्सा, ठेला चलाउने चालक तथा दैनिक ज्यालादारी गरेर परिवारको पालनपोषण गर्ने मजदुरहरूको कामसमेत प्रभावित भएको छ।
बढ्दो गर्मीबाट केही राहत दिन स्थानीय तहहरूले पठनपाठनलाई बिहानको समयमा केन्द्रित गरेका छन्। तर बिहानको तापक्रमसमेत ३० डिग्री सेल्सियस आसपास पुग्न थालेपछि विद्यार्थीहरूलाई अध्ययन र शिक्षकहरूलाई अध्यापन कार्यमा कठिनाइ भइरहेको छ।
दिउँसोको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने र मध्यरातमा समेत ३० डिग्री सेल्सियस हाराहारी रहने भएकाले सर्वसाधारणले रातिको समयमा समेत राहतको अनुभूति गर्न सकेका छैनन्। एकातर्फ बढ्दो तापक्रम र अर्कोतर्फ हुने अनियमित विद्युत् कटौतीले जनजीवनलाई थप कष्टकर बनाएको छ।
गर्मीबाट बच्न सर्वसाधारणले पंखा तथा अन्य विद्युतीय उपकरणको सहारा लिए पनि विद्युत् आपूर्तिमा देखिएको अनियमितताका कारण उनीहरू दिनरात गर्मी सहन बाध्य भएका छन्।
बढ्दो गर्मीसँगै पर्सा जिल्लामा बिरामी हुनेको संख्या पनि बढ्न थालेको छ। नारायणी अस्पतालमा दैनिक रूपमा ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, उच्च रक्तचाप तथा लू लागेका बिरामीहरूको संख्या बढ्दै गएको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सकहरूले गर्मीबाट बच्न पर्याप्त मात्रामा पानी, जुस तथा अन्य झोलिलो पदार्थ सेवन गर्न सुझाव दिएका छन्। साथै अत्यावश्यक कामबाहेक चर्को घाम लाग्ने समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्।
मधुमेह, उच्च रक्तचापलगायत दीर्घरोगबाट पीडित व्यक्तिहरूलाई बिहानको समयमा समेत अत्यधिक शारीरिक व्यायाम नगर्न र स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।











