जनकपुर-
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले योग र प्राणायामलाई स्वस्थ, अनुशासित तथा सकारात्मक जीवनको आधारशिला भएको बताएका छन्। उनले मानव स्वास्थ्यको संरक्षण र रोगबाट बच्न नियमित योगाभ्यासलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए।
शनिबार बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित विशेष योगाभ्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका शारीरिक तथा मानसिक समस्याबाट मुक्ति पाउन योग सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। उनले योगले शरीरलाई मात्र नभई मन, विचार र व्यवहारलाई समेत सकारात्मक दिशा प्रदान गर्ने उल्लेख गरे।
“स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो,” मुख्यमन्त्री यादवले भने, “दैनिक कम्तीमा एक घण्टा योग र प्राणायाम गर्ने बानी बसाल्न सके धेरै रोगबाट बच्न सकिन्छ। व्यस्त जीवनशैलीका बाबजुद पनि प्रत्येक व्यक्तिले स्वास्थ्यका लागि समय निकाल्नुपर्छ।”
उनले विद्यालय तहदेखि नै योग शिक्षालाई पाठ्यक्रममा समावेश गरी नयाँ पुस्तालाई योग संस्कृतिसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले योगलाई निरोगी जीवनको आधार भन्दै यसको अभ्यास समुदायको घरघरमा विस्तार गर्नुपर्ने बताए। उनले योग र प्राणायामले शारीरिक स्फूर्ति, मानसिक शान्ति तथा आत्मविश्वास अभिवृद्धि गर्ने भएकाले यसलाई जनस्तरसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गरे।
‘एक पृथ्वी, एक स्वास्थ्यका लागि योग’ भन्ने अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को मूल नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक योग तथा प्राणायाम अभ्यास गरेका थिए। कार्यक्रममा योग प्रशिक्षकहरूले विभिन्न आसन तथा प्राणायामका विधिबारे जानकारी गराएका थिए।
पर्सास्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले योगलाई केवल शारीरिक व्यायाम नभई स्वस्थ, सन्तुलित र सकारात्मक जीवनशैलीको अभियानका रूपमा स्थापित गर्न महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।












