२०८३ असार ५ गते, शुक्रबार २०:१९

यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतम भ्रष्टाचार मुद्दामा दोषी ठहर, १ वर्ष कैद र १ करोड बढी जरिवाना

काठमाडौँ

यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) पर्साका तत्कालीन अधिकृत कमलराज गौतम अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार गौतमलाई १ वर्ष कैद र १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले गैरकानूनी रूपमा आर्जन गरिएको बिगो बराबरको सम्पत्ति समेत जफत हुने आदेश दिएको छ।

यसैगरी, ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम गौतमबाट थप ४ लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउनुपर्ने फैसलामा उल्लेख छ।

आय र व्ययको गणित: कसरी खुल्यो अवैध सम्पत्ति?

अदालतले गौतम सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५५ वैशाख ६ गतेदेखि २०७९ चैत २४ गतेसम्मको (झण्डै २५ वर्ष) आय-व्यय विश्लेषण गरेको थियो। सो क्रममा अदालतले निम्न निष्कर्ष निकालेको छ:

  • कुल वैध आय: ३ करोड ४७ लाख ८६ हजार ३८२ रुपैयाँ ३१ पैसा
  • कुल व्यय (खर्च तथा लगानी): ४ करोड ५५ लाख ८८ हजार २२० रुपैयाँ ५५ पैसा
  • स्रोत नखुलेको (अवैध) सम्पत्ति: १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ २४ पैसा

गौतमले अदालतसमक्ष हार्भेस्टर भाडा, सुन बिक्री तथा घरका कवाडी सामान बिक्रीबाट भएको भनी दाबी गरेको केही आम्दानीलाई अदालतले स्वीकार गरे पनि वैधानिक स्रोत पुष्टि हुन नसकेको बाँकी ठूलो रकमलाई भ्रष्टाचारजन्य आम्दानी ठहर गरेको हो।

अख्तियारको दाबी र श्रीमतीको नाममा सम्पत्ति

पर्सा यातायातमा रहँदा पदीय मर्यादाविपरीत गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतममाथि अनुसन्धान सुरु गरेको थियो। अख्तियारले गौतमको २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै मुद्दा दायर गरेको थियो, जसमा अदालतले आंशिक ठहर गर्दै १ करोड ८ लाख बढीलाई अवैध मानेको हो।

अख्तियारले गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले श्रीमतीको नाममा राखेको भन्दै उनकी पत्नी सरला नेपाललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। अदालतको फैसला अनुसार उक्त अवैध सम्पत्ति जफत हुने भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस