२०८३ असार ५ गते, शुक्रबार २०:१८

लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटद्वारा ड्रागन बोट पर्वको आयोजना

लुम्बिनी –

चीन र नेपालबीचको सांस्कृतिक आदान–प्रदान एवं मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटले चिनियाँ भाषामा ड्रागन बोट पर्व, सांस्कृतिक प्रवद्र्धन तथा परम्परागत चिनियाँ खाद्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी, सांस्कृतिक क्षेत्रका प्रतिनिधि तथा अन्य अतिथिहरूको उल्लेखनीय सहभागिता थियो । सहभागीहरूले चीनका प्रमुख परम्परागत चाडहरूमध्ये एक मानिने ड्रागन बोट पर्वको सांस्कृतिक महत्त्वबारे जानकारी हासिल गर्नुका साथै विभिन्न गतिविधिमार्फत चिनियाँ संस्कृतिको प्रत्यक्ष अनुभव गर्ने अवसर गरे । 

कार्यक्रमको उद्घाटन कन्फ्युसियस इन्स्टिच्युटका नेपाल निर्देशक डा. कुमार खड्काको स्वागत मन्तव्यबाट भएको थियो। उनले इन्स्टिच्युट स्थापना भएयता हासिल भएका उपलब्धि, वर्तमान शैक्षिक गतिविधि तथा भावी योजनाबारे जानकारी दिँदै चिनियाँ भाषा शिक्षाको प्रवद्र्धन, शैक्षिक सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउन संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

त्यसपछि चीन–नेपाल सांस्कृतिक आदान–प्रदान केन्द्रका निर्देशक मानिष जोशीले चीन र नेपालबीचको ऐतिहासिक मित्रता तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै शिक्षा, संस्कृति र जनस्तरको सम्पर्कमार्फत दुई देशबीचको सम्बन्ध अझ मजबुत बन्दै गएको उल्लेख गरे। उनले आगामी दिनमा सहकार्यका क्षेत्र थप विस्तार हुने विश्वास समेत व्यक्त गरे।

कार्यक्रमको सांस्कृतिक सत्रमा कन्फ्युसियस इन्स्टिच्युटका विद्यार्थीहरूले चिनियाँ गीतहरू प्रस्तुत गरेका थिए । उनीहरूको प्रस्तुतिले चिनियाँ भाषा अध्ययनप्रतिको लगाव र संस्कृतिप्रतिको सम्मान झल्काएको थियो, जसलाई उपस्थित दर्शकहरूले उत्साहपूर्वक स्वागत गरे।

सांस्कृतिक व्याख्यान सत्रमा कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक डा. काओ रुईले “ड्रागन बोट को इतिहास, परम्परा र सांस्कृतिक महत्त्व” विषयमा विशेष प्रस्तुति दिएका थिए। उनले पर्वको उत्पत्ति, देशभक्त कवि चू युआनको इतिहाससँग जोडिएको पृष्ठभूमि, ड्रागन बोट दौड, जोङ्जी (चामलको विशेष परिकार) बनाउने परम्परा र चिनियाँ चिया संस्कृतिबारे विस्तृत जानकारी दिए। साथै, यस पर्वले पारिवारिक एकता, देशभक्ति र सांस्कृतिक निरन्तरताको सन्देश दिने उनले उल्लेख गरे।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस