वीरगन्ज–
देशकै प्रमुख व्यापारिक नाका वीरगन्जको राजश्व संकलनमा ८ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज भन्सार कार्यालयले करिब १८ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठसम्मको ११ महिनामा २ खर्ब ३ अर्ब ८२ करोड ४० लाख रुपैयाँ राजश्व संकलन भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा भने कार्यालयले २ खर्ब २१ अर्ब ७८ करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ९५ करोड ८४ लाख रुपैयाँ बढी हो।
यद्यपि, गत वर्षको तुलनामा बढी राजश्व संकलन भए पनि भन्सार विभागले निर्धारण गरेको वार्षिक लक्ष्य भने कार्यालयले पूरा गर्न सकेको छैन। चालु आर्थिक वर्षको ११ महिनाका लागि भन्सार विभागले २ खर्ब ४९ अर्ब २१ करोड ६८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर कार्यालयले लक्ष्यभन्दा २७ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ कम राजश्व संकलन गरेको जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार कार्यालयले प्राप्त लक्ष्यको तुलनामा करिब ११ प्रतिशत कम राजश्व संकलन गरेको हो।
उहाँले वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने मालवस्तुको आयात गत वर्षको तुलनामा केही वृद्धि भए पनि कार्यालयलाई सबैभन्दा बढी राजश्व दिने सवारीसाधनको आयात घटेकाले निर्धारित लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो।












