२०८३ असार ७ गते, आईतवार १३:३०

पत्रकार महासंघ मधेश प्रदेशको पाँचौँ साधारणसभा बर्दिबासमा सम्पन्न

सञ्चार क्षेत्र लोकतन्त्रको आधारस्तम्भ, पत्रकारको सुरक्षा र स्वतन्त्रतामा प्रदेश सरकार प्रतिबद्ध: गृह, सञ्चार मन्त्री महतो

बर्दिबास, महोत्तरी

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पाँचौँ साधारणसभा शनिबार महोत्तरीको बर्दिबासमा भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभामा सहभागी वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा, श्रम अधिकार र व्यावसायिक पत्रकारिताका विविध आयामसँगै मधेश प्रदेशको समग्र विकासका चुनौतीबारे गहन छलफल गरेका छन्।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको उक्त साधारणसभाको उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गरेका थिए।

उद्घाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले पत्रकारिता क्षेत्र लोकतन्त्रको मुख्य आधारस्तम्भ भएको उल्लेख गरे। उनले पत्रकारहरूले स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताए।

मन्त्री महतोले पत्रकारले असुरक्षा महसुस गरे अभिव्यक्ति स्वतन्त्रता नै कमजोर हुने र त्यसले लोकतान्त्रिक प्रणालीमै नकारात्मक असर पार्ने चेतावनी दिए। उनले पत्रकारका पेशागत समस्या समाधान, सञ्चार पूर्वाधार विकास तथा क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार सधैं सकारात्मक रहेको र यसका लागि सहकार्य आवश्यक रहेको धारणा राखे।

चुनौतीका बीच जनअपेक्षाअनुसार काम गर्दैछौँ: श्रम मन्त्री थापा

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा बोल्दै मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले समाजमा समानता, न्याय र सुशासन स्थापना गर्न सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताइन्। उनले पत्रकारिताले जनताको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने हुँदा राज्यले पत्रकारहरूको क्षमता विकास र पेशागत संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

मधेश प्रदेशमा सीमित स्रोतसाधनका बीच थुप्रै चुनौती रहेको स्वीकार गर्दै मन्त्री थापाले भनिन्, “बजेट सीमित भए पनि प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन। विकास निर्माण, रोजगार सिर्जना, यातायात व्यवस्थापन तथा सामाजिक क्षेत्रका समस्याहरू समाधान गर्न सरकार निरन्तर प्रयासरत छ।”

आचारसंहिता र तथ्यपरक पत्रकारितामा जोड

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले डिजिटल माध्यमको तीव्र विस्तार र बदलिँदो सूचना प्रवाहको अवस्थाबीच पत्रकारहरूले व्यावसायिक मर्यादा, आचारसंहिता र तथ्यमा आधारित पत्रकारितालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। महासंघले पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार तथा सामाजिक सुरक्षाको सुनिश्चितताका लागि निरन्तर आवाज उठाइरहेको भन्दै उनले पत्रकार एकता र संस्थागत सुदृढीकरण आजको आवश्यकता रहेको औँल्याए।

त्यस्तै, साधारणसभाका अध्यक्ष एवं प्रदेश अध्यक्ष श्याम बञ्जाराले अनेकौँ चुनौती र अभावका बीच पनि पत्रकारिता क्षेत्रले आफ्नो दायित्व निभाइरहेको स्पष्ट पारे। उनले बदलिँदो सञ्चार परिवेशमा जनउत्तरदायी र जनपक्षीय पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरूको हकहितका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिए।

साधारणसभामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रदेश सदस्य अजय साह लगायत मधेश प्रदेशका आठवटै जिल्लाका महासंघ अध्यक्ष, पदाधिकारी, सञ्चारकर्मी तथा प्रतिनिधिहरूको उल्लेखनीय र सक्रिय सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले प्रदेशस्तरमा तत्काल सञ्चारमैत्री नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

बर्दिबास घोषणासहित सम्पन्न साधारणसभाले प्रेस स्वतन्त्रताको संरक्षण, श्रम अधिकारको सुनिश्चितता, पत्रकारको सामाजिक सुरक्षा तथा सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणका विषयलाई थप प्रभावकारी रूपमा अघि बढाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस