२०८३ असार ८ गते, सोमबार १९:१८

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

काठमाडौँ

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा गम्भीर प्रकृतिको उजुरी दर्ता भएको छ। हिरासत कक्षभित्रै प्रवेश गरी थुनुवाहरूलाई मानसिक दबाब तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै सोमबार गृहमन्त्री गुरुङविरुद्ध आयोगमा औपचारिक उजुरी दर्ता गरिएको हो।

पीडित भनिएका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले संयुक्त रूपमा उक्त उजुरी दर्ता गराएका हुन्। उजुरीकर्ताहरूले हिरासतमा रहेका बेला आफूहरू असुरक्षित भएको भन्दै मानव अधिकारको रक्षा र घटनाको निष्पक्ष छानबिनका लागि गुहार मागेका छन्।

तत्काल बयान लिन र सीसीटीभी फुटेज नियन्त्रणमा लिन माग

दर्ता गरिएको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई त्यहाँको तात्कालिक वस्तुस्थितिको बुझबुझारथ गर्न माग गरिएको छ। साथै, हिरासतमा रहेका पीडितहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको तत्काल बयान लिई घटनाको सत्यतथ्य जाँचबुझ गर्न आयोगसँग आग्रह गरिएको छ।

उजुरीमा घटना भएको भनिएको दिनको प्रमाण नष्ट हुन सक्ने आशंका समेत व्यक्त गरिएको छ। गृहमन्त्री गुरुङको टोली सोह्रखुट्टे प्रहरी वृत्त प्रवेश गरेको भनिएको गत जेठ १९ गतेको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी (CCTV) फुटेज, आगन्तुक अभिलेख (भिजिटर रजिस्टर) र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित राख्न समेत माग गरिएको छ।

हिरासतभित्रै थुनुवाको सुरक्षा सुनिश्चित गर्नुपर्ने राज्यको दायित्व र त्यसमा पनि गृहमन्त्रीमाथि नै यस्तो गम्भीर आरोप लागेकाले यस घटनालाई कानुनी एवं मानव अधिकारको दृष्टिकोणबाट निकै चासोका साथ हेरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले यस उजुरीमाथि गर्ने आगामी कदम र अनुसन्धानलाई सर्वत्र पर्खिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस