२०८३ असार ९ गते, मंगलवार १९:०२

अनलाइन दर्ता गरेर युट्युब र रिलमा ‘गालीगलौज र भ्युज’को खेती गर्नेहरूमाथि प्रेस काउन्सिल खनियो, कडा कारबाहीको चेतावनी

काठमाडौँ

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि गर्ने, अफवाह फैलाउने र सामाजिक सञ्जालमा अमर्यादित सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पत्रकारिताको आचरण र मर्यादाको परिधिभित्र रही जिम्मेवारीबोधका साथ मात्र सामग्री सम्प्रेषण गर्न सरोकारवाला सबैलाई सचेत गराएको हो।

पछिल्लो समय पत्रकारिताको आवरणमा डिजिटल प्लेटफर्महरूको चरम दुरुपयोग बढेको भन्दै काउन्सिलले यसप्रति गम्भीर चिन्ता र आपत्ति प्रकट गरेको छ।

अनलाइन दर्ता गर्ने, तर युट्युब र रिलमा मात्र भ्युज र मोनिटाइजेसनको खेती गर्ने!

काउन्सिलले आफ्नो विज्ञप्तिमा अनलाइन समाचार पोर्टलका नाममा भइरहेको विकृतिमाथि कडा प्रहार गरेको छ। कतिपयले अनलाइन समाचार पोर्टल दर्ता त गर्ने, तर त्यसमा कुनै समाचार सामग्री प्रकाशन नगरी विशुद्ध भ्युज (Views) कमाउने र मोनिटाइजेसन (Monetization) मार्फत पैसा कमाउने उद्देश्य मात्र राखेको पाइएको काउन्सिलले जनाएको छ।

त्यस्ता सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले युट्युब च्यानल, फेसबुक पेज तथा टिकटक रिलमार्फत तथ्यहीन, समाजमा झैझगडा भड्काउने, उत्तेजना फैलाउने र गालीगलौजपूर्ण सामग्रीहरू सम्प्रेषण गरिरहेको भन्दै काउन्सिलले त्यस्ता गैरजिम्मेवार प्रवृत्तिको कडा भर्त्सना गरेको छ।

बिना अनुमति कार्यालय र विद्यालय छिरेर अमर्यादित हर्कत

काउन्सिलका अनुसार पत्रकारिताको न्यूनतम मर्यादासमेत ख्याल नगरी, आधिकारिक अनुमति र पत्रकार परिचयपत्र (Press पास) बिना नै विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था वा सार्वजनिक कार्यक्रमहरूमा जबरजस्ती प्रवेश गर्ने प्रवृत्ति मौलाएको छ। त्यहाँ पुगेर अमर्यादित व्यवहार गर्ने, कर्मचारी वा सर्वसाधारणमाथि दुव्र्यवहार तथा विवाद सिर्जना गर्ने र हातपात सम्मका घटना गराई सोही भिडियोलाई फेसबुक र युट्युबमा हालेर ‘भाइरल’ बनाउने प्रवृत्ति बढेको भन्दै काउन्सिलले आक्रोश व्यक्त गरेको छ।

पत्रकारिताको गरिमामाथि धक्का

यस्ता अराजक र गैरजिम्मेवार गतिविधिहरूले वर्षौँदेखि देश र जनताका पक्षमा निष्पक्ष रूपमा काम गरिरहेको समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता, गरिमा र स्थापित मर्यादामा नै ठूलो नकारात्मक प्रभाव पारिरहेको प्रेस काउन्सिलको ठहर छ।

काउन्सिलले आफ्नो पेसागत मर्यादा भुलेर भ्युज र डलरको पछि लाग्ने, आचारसंहिता उल्लंघन गर्ने र ब्ल्याकमेलिङको शैलीमा सामाजिक सञ्जाल चलाउनेहरूलाई कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस