वीरगन्ज–
पर्साको वीरगन्जबाट सङ्घीय राजधानी काठमाडौँतर्फ जाँदै गरेको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ‘ट्रामाडोल’ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष सक्रियतामा उक्त प्रतिबन्धित औषधि बरामद गरिएको हो।
राजस्व छली गरी अवैध रूपमा मालसामान ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले असार ८ गते आइतबार साँझ करिब ७ बजे बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो।
राजस्वकै आशंकामा समातिएको ट्रकमा फेला पर्यो प्रतिबन्धित औषधि
सुरुमा राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको उक्त ट्रकलाई थप कानुनी प्रक्रिया र जाँचबुझका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो।
राजस्व अनुसन्धान कार्यालयमा बुझाएपछि ट्रकको विस्तृत जाँच (चेकजाँच) गर्ने क्रममा अन्य मालसामानको गन्तव्यभित्र लुकाएर राखिएको अवस्थामा १ लाख २० हजार ६२० क्याप्सुल प्रतिबन्धित औषधि ‘ट्रामाडोल’ (Tramadol) फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












