२०८३ असार ९ गते, मंगलवार १६:१५

रास्वपा महाधिवेशन: नयाँ नेतृत्वका लागि बुधबार मतदान, ८० वटा विद्युतीय उपकरण प्रयोग गरिँदै, यस्तो छ चुनावी प्रक्रिया

चितवन

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि (बुधबार) मतदान हुने भएको छ। महाधिवेशनको बन्दसत्र सम्पन्न भएलगत्तै निर्वाचन प्रक्रिया अघि बढ्ने र मतदानको अन्तिम कार्यतालिका सार्वजनिक गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मंगलबार दिउँसो २ बजे सुरु हुने बन्दसत्र साँझ ६ः४५ बजे सकिनेछ। बन्दसत्र सम्पन्न भएलगत्तै उम्मेदवारी दर्ता तथा निर्वाचन सम्बन्धी अन्य प्राविधिक प्रक्रियाहरू द्रुत गतिमा अगाडि बढाइनेछ।

डिजिटल मतदान र प्रवासबाट एपमार्फत भोट हाल्न पाइने

रास्वपाले नयाँ नेतृत्व चयनका लागि पूर्ण रूपमा विद्युतीय मतदान प्रणाली (Electronic Voting) प्रयोग गर्ने भएको छ। महाधिवेशनस्थलमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेका प्रवास (विदेश) मा रहेका प्रतिनिधिहरूका लागिसमेत पार्टीको आधिकारिक मोबाइल एपमार्फत नै मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको छ। मतदान प्रक्रियालाई सहज र छिटो छरितो बनाउन महाधिवेशनस्थलमा ८० वटा विद्युतीय उपकरण (भोटिङ मेसिन) तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

१०० सदस्यीय केन्द्रीय समिति: सभापति छानिएपछि पदाधिकारी चयन हुने

यस महाधिवेशनबाट रास्वपाले एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यसहित कुल १०० सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यका लागि मात्रै मतदान गराइनेछ। यो प्रक्रिया सकिएपछि निर्वाचित समितिबाट पदाधिकारी चयनको प्रक्रिया अघि बढाइनेछ।

रास्वपाको विधानअनुसार पदाधिकारी परिमाण यस प्रकार रहनेछ:

  • वरिष्ठ नेता: १ जना
  • उपसभापति: ३ जना
  • महामन्त्री: २ जना
  • सहमहामन्त्री: ५ जना
  • कोषाध्यक्ष: १ जना
  • सहकोषाध्यक्ष: २ जना
  • प्रवक्ता: १ जना

उम्मेदवारी शुल्क र आवश्यक समर्थकको विवरण:

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न पदमा उम्मेदवारी दिनका लागि प्रस्तावक, समर्थक र शुल्कको मापदण्ड तोकिएको छ:

  • सभापति पद: उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ। यसका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुनुपर्नेछ।
  • पदाधिकारी पद: उम्मेदवारी शुल्क ४१ हजार रुपैयाँ। यसका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ।
  • केन्द्रीय सदस्य पद: उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ। यसका लागि १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने व्यवस्था छ।

उम्मेदवारी दर्ताका लागि मनोनयन फारामका साथै शुल्क बुझाएको प्रमाण, कुनै पनि अनुशासन कारबाहीमा नपरेको स्वघोषणापत्र, पार्टी सदस्यताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्ने नियम बनाइएको छ।

प्रस्तावक र समर्थक बस्नेलाई कडा नियम

निर्वाचन आयोगले कुनै पनि पदका उम्मेदवार आफैँ अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न नपाउने स्पष्ट पारेको छ। यदि कसैको प्रस्तावक वा समर्थक रहेको व्यक्तिले आफैँ पनि उम्मेदवारी दिएमा, त्यस्तो उम्मेदवारी स्वतः खारेज हुने कानुनी व्यवस्था आयोगले गरेको छ।

पार्टीभित्र सर्वोच्च पद (सभापति) मा वर्तमान सभापति रवि लामिछानेको मात्र एकल उम्मेदवारी पर्ने र उनी सर्वसम्मत छानिने सम्भावना बलियो रहेको चर्चा चले पनि उम्मेदवारी दर्ताको समय सकिएपछि मात्रै अन्तिम तस्वीर स्पष्ट हुने निर्वाचन आयोगले उल्लेख गरेको छ।

प्रतिक्रिया

रास्वपा महाधिवेशन: नयाँ नेतृत्वका लागि बुधबार मतदान, ८० वटा विद्युतीय उपकरण प्रयोग गरिँदै, यस्तो छ चुनावी प्रक्रिया

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक

रास्वपा महाधिवेशन: नयाँ नेतृत्वका लागि बुधबार मतदान, ८० वटा विद्युतीय उपकरण प्रयोग गरिँदै, यस्तो छ चुनावी प्रक्रिया

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक

पोडकास्ट सुन्नुहोस