२०८३ असार ११ गते, बिहीबार ०९:२५

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

विदुर लोचन न्यौपाने

ज्योतिष तथा पण्डित

प्रमिला कार्की,नेपाल न्यूज बैंक

काठमाडौं । हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा व्रतमध्ये एकादशीको विशेष स्थान रहेको छ । त्यसमध्ये पनि निर्जला एकादशीलाई अत्यन्तै पुण्यदायी र फलदायी व्रतका रूपमा लिने गरिन्छ । भगवान विष्णुप्रति समर्पित यो व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मसंयम, अनुशासन, स्वास्थ्य र सांस्कृतिक जीवनशैलीसँग समेत जोडिएको छ ।

ज्योतिष तथा पण्डित विदुर लोचन न्यौपानेका अनुसार निर्जला एकादशीको मुख्य विशेषता नै पानीसमेत सेवन नगरी भगवान विष्णुको आराधना गर्दै उपवास बस्नु हो । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले शास्त्रमा वर्णन गरिएअनुसार व्रत तीन प्रकारका रहेको जानकारी दिए । जसमा जलाहार, फलाहार र निर्जला रहेको छन् । 

जलाहारमा पानी मात्र सेवन गरिन्छ, फलाहारमा फलफूल तथा हल्का आहार ग्रहण गरिन्छ भने निर्जला व्रतमा पानीसमेत नपिई उपवास बस्ने गरिन्छ । उनका अनुसार शास्त्रीय मान्यतामा निर्जला व्रतलाई सबैभन्दा उत्कृष्ट मानिएको छ । ‘शास्त्रमा निर्जला व्रतले पूर्ण फल दिने, जलाहारले आधा फल दिने र फलाहार वा अन्य आहार ग्रहण गरेर बसेको व्रतले अझ कम फल दिने उल्लेख छ,’ उनले भने । निर्जला एकादशीको मूल सन्देश आत्मसंयम र इन्द्रिय नियन्त्रण रहेको पण्डित न्यौपाने बताउँछन् । उनका अनुसार व्रतको उद्देश्य केवल भोकै बस्नु होइन, मन, वचन र कर्मलाई शुद्ध राख्नु पनि हो ।

उनले भने,‘मानिसले जीवनभर भौतिक आवश्यकताका लागि दौडधुप गरिरहेको हुन्छ । एकादशीको व्रतले शरीरलाई विश्राम दिनुका साथै मनलाई आध्यात्मिक मार्गतर्फ उन्मुख गराउँछ ।’

उनका अनुसार सत्ययुगमा निर्जला व्रत व्यापक रूपमा पालन गरिन्थ्यो । तर समय परिवर्तनसँगै मानिसको जीवनशैली, शारीरिक अवस्था र कार्यव्यस्तताले गर्दा सबैले पूर्ण निर्जला व्रत बस्न सक्ने अवस्था नरहे पनि सक्नेहरूले यो व्रत पालना गर्दा शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ ।

उपवासको महत्वः धर्मदेखि विज्ञानसम्म

धार्मिक महत्वका अतिरिक्त उपवासको वैज्ञानिक पक्ष पनि रहेको न्यौपाने बताउँछन् । आधुनिक चिकित्सा विज्ञानले समेत समय–समयमा उपवास बस्नु शरीरका लागि लाभदायक हुने बताउने गरेको उनको भनाइ छ ।

‘डाक्टरहरूले पनि सातामा एक दिन वा निश्चित अवधिमा फास्टिङ गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ भन्छन् । शरीरलाई विश्राम दिन, पाचन प्रणालीलाई सन्तुलित राख्न र शरीरभित्रको शुद्धीकरण प्रक्रियालाई सक्रिय बनाउन उपवास उपयोगी हुन्छ,’ उनले बताए ।

यद्यपि उनले स्वास्थ्य अवस्था कमजोर भएका, वृद्धवृद्धा, गर्भवती महिला वा दीर्घरोगीहरूले आफ्नो अवस्था हेरेर मात्र व्रत बस्नुपर्ने सुझाव दिएका छन् ।

एकादशीको पौराणिक महत्व

हिन्दु धर्मग्रन्थहरूमा एकादशीको महिमा विशेष रूपमा वर्णन गरिएको पाइन्छ । पण्डित न्यौपानेका अनुसार सत्ययुगमा भगवान विष्णु र एक शक्तिशाली दैत्यबीच लामो समयसम्म युद्ध भएको थियो। त्यस क्रममा भगवान विष्णु विश्राममा रहँदा देवी शक्तिको उत्पत्ति भई दैत्यको वध भएको पौराणिक कथा प्रचलित छ ।

त्यही घटनापछि एकादशी तिथिको महत्व स्थापित भएको धार्मिक विश्वास रहेको उनी बताउँछन् । त्यसयता एकादशीलाई भगवान विष्णुको विशेष दिनका रूपमा पूजा–आराधना गरिँदै आएको छ ।

एकादशी व्रतका विधिहरु के के छन ?

पण्डित न्यौपानेका अनुसार एकादशीको दिन ब्रह्ममुहूर्तमा उठ्नु अत्यन्तै शुभ मानिन्छ। सूर्योदयभन्दा करिब दुई घण्टा अगाडि उठेर स्नान गर्ने, शुद्ध वस्त्र धारण गर्ने र भगवान विष्णुको पूजा आराधना गर्ने परम्परा छ ।

पहिले नदी, तलाउ वा सरोवरमा स्नान गर्ने चलन भए पनि वर्तमान अवस्थामा घरमै स्नान गरेर पनि धार्मिक विधि सम्पन्न गर्न सकिने उनी बताउँछन् ।

उनले भने,‘मुख्य कुरा श्रद्धा र भक्ति हो । जहाँ भएपनि भगवानलाई सम्झेर स्नान गर्ने, गायत्री मन्त्र जप गर्ने, दीप प्रज्वलन गर्ने र भगवान विष्णुको पूजा गर्ने हो ।’

पूजाका क्रममा भगवान विष्णु, माता लक्ष्मी र तुलसीको विशेष आराधना गरिन्छ। पञ्चामृत, अक्षता, फूल, धूप, दीप तथा नैवेद्य अर्पण गरी पूजा सम्पन्न गरिन्छ।

तुलसी ः धर्म, विज्ञान र आयुर्वेदको संगम

एकादशीको चर्चा तुलसीबिना अधुरो मानिन्छ । हिन्दु धर्ममा तुलसीलाई केवल वनस्पति होइन, देवीस्वरूप मानिएको छ । पण्डित न्यौपानेका अनुसार तुलसीमा माता लक्ष्मीको वास रहने धार्मिक विश्वास छ ।  

‘तुलसी भगवान विष्णुलाई अत्यन्त प्रिय छ । तुलसी दलबिना भगवानलाई चढाइएको प्रसाद पूर्ण मानिँदैन,’ उनले बताए । कुनै पनि पूजा, यज्ञ, व्रत वा धार्मिक अनुष्ठानमा तुलसीको प्रयोग विशेष महत्वका साथ गरिने उनले बताए । 

वैज्ञानिक दृष्टिले पनि तुलसी अत्यन्त उपयोगी वनस्पति मानिन्छ । तुलसीले वातावरण शुद्ध बनाउन, हावाको गुणस्तर सुधार गर्न तथा विभिन्न रोगसँग लड्न सहयोग गर्ने गुण राख्छ ।

आयुर्वेदमा तुलसीलाई ‘महाऔषधि’का रूपमा वर्णन गरिएको छ । रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या, पाचन प्रणालीका विकार तथा प्रतिरक्षा प्रणाली सुदृढ बनाउन तुलसी उपयोगी मानिन्छ ।

घरमा तुलसीको महत्व

सनातन परम्परामा घरको आँगनमा तुलसीको मठ निर्माण गर्ने चलन छ । पण्डित न्यौपानेका अनुसार तुलसी भएको घरलाई पवित्र मानिन्छ ।

‘जुन घरमा तुलसी छैन, त्यो घर आध्यात्मिक दृष्टिले अपूर्ण मानिन्छ । तुलसीले वातावरणलाई सकारात्मक बनाउँछ र धार्मिक ऊर्जा प्रदान गर्छ भन्ने विश्वास छ,’ उनले भने । वास्तुशास्त्रमा पनि तुलसीलाई शुभ मानिन्छ। विशेष गरी घरको ईशान कोणमा तुलसी रोप्दा नकारात्मक ऊर्जा हट्ने र सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ ।

निर्जला एकादशीमा तुलसी दल राख्ने परम्परा

निर्जला एकादशीको अर्को विशेष पक्ष तुलसीको दल राख्ने परम्परा हो । पण्डित न्यौपानेका अनुसार यस दिन विशेष विधिपूर्वक तुलसीको दल राख्ने गरिन्छ ।

उनका अनुसार निर्जला एकादशीका दिन राखिएको तुलसीको दल वर्षभर संरक्षण गरिन्छ र धार्मिक कार्यहरूमा प्रयोग गरिन्छ । यसले तुलसीको संरक्षण र संवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।

तुलसीका विभिन्न प्रजातिमध्ये श्याम तुलसीलाई विशेष महत्व दिइन्छ । भगवान कृष्णको श्याम वर्णसँग जोडेर श्याम तुलसीलाई धार्मिक रूपमा बढी पवित्र मान्ने परम्परा रहेको उनी बताउँछन् । 

जन्मदेखि मृत्युसम्म तुलसीको साथ

हिन्दु जीवनपद्धतिमा तुलसीको भूमिका जन्मदेखि मृत्युसम्म रहने विश्वास छ । विभिन्न संस्कारहरूमा तुलसीको प्रयोग गरिन्छ ।

पण्डित न्यौपानेका अनुसार मृत्युशय्यामा रहेका व्यक्तिलाई तुलसी दल र गंगाजल दिने परम्परा छ । यसले आत्मालाई मोक्ष प्राप्त गर्न सहयोग गर्ने धार्मिक विश्वास रहिआएको छ ।

त्यसैगरी भगवानलाई अर्पण गरिने प्रसादमा तुलसी दल राख्नुलाई अनिवार्य मानिन्छ । तुलसीबिना भगवान विष्णुको पूजा अपूर्ण हुने मान्यता छ । एकादशी व्रत र तुलसी पूजन केवल धार्मिक अनुष्ठान मात्र होइन, समाजलाई अनुशासित, नैतिक र आध्यात्मिक बनाउने माध्यम पनि भएको उनी बताउँछन् । उनले भने,‘व्रतले संयम सिकाउँछ, पूजा–पाठले सकारात्मक सोच विकास गर्छ र तुलसीले प्रकृतिप्रतिको सम्मान सिकाउँछ ।’

आधुनिक जीवनशैलीका कारण धेरै परम्परा ओझेलमा पर्दै गए पनि एकादशी र तुलसी पूजनले अझै पनि नेपाली समाजमा आफ्नो महत्व कायम राखेको उनको भनाइ छ ।

नयाँ पुस्तालाई सन्देश

नयाँ पुस्ताले धर्मलाई अन्धविश्वासका रूपमा नभई जीवनशैली, संस्कृति र आत्मअनुशासनको माध्यमका रूपमा बुझ्नुपर्ने पण्डित न्यौपानेको सुझाव छ ।

उनका अनुसार एकादशी व्रतले मानिसलाई संयम, धैर्य र आत्मिक शान्तिको मार्गमा डो¥याउँछ भने तुलसीले प्रकृति, स्वास्थ्य र आध्यात्मिकताको सम्बन्ध बुझाउँछ ।

‘सबैले कठोर निर्जला व्रत बस्न सक्दैनन् । तर श्रद्धा, भक्ति र सदाचारका साथ भगवानलाई सम्झनु नै ठूलो कुरा हो,’उनी भन्छन् । 

उनले महिनामा दुई पटक आउने शुक्ल पक्ष र कृष्ण पक्षका एकादशीहरूमा सकेसम्म व्रत बस्न, भगवान विष्णुको पूजा गर्न, तुलसीको संरक्षण गर्न र सनातन संस्कृतिका मूल्यहरूलाई अगाडि बढाउन आग्रह गरे । धार्मिक विश्वासअनुसार एकादशीको व्रत, तुलसीको पूजा, दान–दक्षिणा तथा सत्कर्मले मानिसलाई पुण्य प्राप्त हुने, पाप नाश हुने र आध्यात्मिक उन्नति हासिल हुने विश्वास रहिआएको छ। यही कारण निर्जला एकादशीलाई सनातन हिन्दु संस्कृतिको महत्वपूर्ण आध्यात्मिक पर्वका रूपमा आज पनि श्रद्धापूर्वक मनाइँदै आइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस