२०८३ असार ११ गते, बिहीबार १५:५४

भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

काठमाडौं –

भेनेजुएलाको राजधानी काराकास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार शक्तिशाली दुईवटा भूकम्प आएपछि विभिन्न देशका नेताहरूले मानवीय सहायता, उद्धार टोली तथा स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन् । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रस्ताव आएको हो ।

उद्धार तथा राहत कार्य जारी रहेका बेला ल्याटिन अमेरिकी देशहरू लगायत अन्य मुलुकहरूले पनि सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले भेनेजुएली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति पठाउने तयारी गरिएको बताएकी छन् । यसको प्रत्युत्तरमा राष्ट्रपति रोड्रिगेजले मेक्सिको सरकारको सहयोग प्रस्तावप्रति आभार व्यक्त गर्दै आवश्यक समन्वय गरी सहायता स्वीकार गरिने बताइन् ।

इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले तत्काल मानवीय सहायता पठाउने घोषणा गर्दै राजनीतिक मतभेदभन्दा माथि उठेर मानवता सर्वोपरि हुनुपर्ने बताएका छन् । रोड्रिगेजले इक्वेडरको सहयोग प्रस्तावलाई सम्मानजनक र सहकार्यपूर्ण कदमका रूपमा स्वागत गरेकी छन् । डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडेरले रोड्रिगेजसँग प्रत्यक्ष टेलिफोन संवाद गरी समवेदना व्यक्त गरेका छन् । उनले खोज तथा उद्धारका लागि विशेष टोली र आपतकालीन सेवा समूह भेनेजुएला पठाइने जानकारी दिएका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि भूकम्पबाट भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सम्भावित सहायता उपायहरूको मूल्यांकन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् । उनले प्रभावित क्षेत्रको पुनःस्थापनामा ब्राजिल सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले ३०० उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा ५० टन राहत सामग्री, औषधि र अत्यावश्यक सामान काराकासतर्फ पठाउन तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । रोड्रिगेजले यस सहयोग प्रस्तावलाई स्वागत गर्दै तत्काल आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको बताइन् ।

संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले पनि अमेरिकाले भेनेजुएली जनताको साथमा रहेको जनाउँदै आवश्यक सहायता परिचालन भइरहेको बताएका छन् ।

यस्तै चिली, होन्डुरस र अर्जेन्टिनाले पनि भेनेजुएलाप्रति ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक परे मानवीय सहायता उपलब्ध गराउने बताएका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईको कार्यालयले जारी गरेको वक्तव्यमा राजनीतिक मतभेदभन्दा माथि उठेर प्राकृतिक विपत्तिको समयमा सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ । कोलम्बियाका पूर्वराष्ट्रपति आल्भारो उरिबे भेलेजले पनि सामाजिक सञ्जालमार्फत भेनेजुएली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।

भूकम्पपछि भेनेजुएली अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान तीव्र बनाएका छन् । क्षतिको पूर्ण विवरण अझै सार्वजनिक नभए पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले उद्धार तथा पुनःस्थापनाका प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ । एएनआई

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस