२०८३ असार ११ गते, बिहीबार १५:५४

रक्सौलमा एक करोड मूल्य बराबरको गाँजासहित ट्रक चालक पक्राउ, नेपालबाट बिहारको छपरातर्फ लैजाँदै

वीरगन्ज

नेपाल-भारत सीमावर्ती सहर रक्सौलमा प्रहरीले झन्डै एक करोड भारतीय रुपैयाँ मूल्य बराबरको अवैध गाँजासहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। रक्सौलको हरैया थाना प्रहरीले नेपालबाट बिहारको छपरातर्फ लैजाँदै गरेको अवस्थामा साढे तीन क्विन्टल गाँजा बरामद गरेको हो।

हरैया थानाका प्रभारी कृष्ण पासवानका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकिङका क्रममा पटना नम्बरको एउटा ट्रकको गोप्य तहखाना (फल्स बटम) भित्र लुकाएर राखिएको ३.५ क्विन्टल गाँजा फेला परेको हो। प्रहरीले ट्रकसहित मुजफ्फरपुर निवासी चालकलाई हिरासतमा लिएको छ। बरामद गरिएको उक्त गाँजाको अनुमानित बजार मूल्य करिब एक करोड रुपैयाँ रहेको छ।

विगत केही वर्षदेखि भारत-नेपाल सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय लागूऔषध तस्कर सिन्डिकेटहरूले अवैध गाँजा, चरेस र अफिम जस्ता पदार्थहरूको ओसारपसार तीव्र बनाएका छन्। तस्करहरूले युवा पुस्तालाई कुलतमा फसाउनुका साथै यस अवैध धन्दाबाट आर्जित रकम आपराधिक गतिविधिहरूमा लगानी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

नेपालका विभिन्न क्षेत्रमा सस्तो मूल्यमा खरिद गरिएका यस्ता पदार्थहरू सीमा पार गराई भारतका ठुला सहरहरूमा पुर्‍याएर लाखौँदेखि करोडौँ मूल्यमा बिक्री गर्ने गरिएको छ। पक्राउ परेका चालकमाथि लागूऔषध ओसारपसार ऐन अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको हरैया थानाले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस