२०८३ असार १२ गते, शुक्रबार १८:५९

रास्वपा केन्द्रीय सदस्यमा पर्साबाट अन्सारी र चौधरी निर्वाचित, सिंह पराजित

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पर्सा जिल्लाबाट उम्मेदवारी दिएका तीन जनामध्ये दुई जना निर्वाचित भएका छन् भने एक जना पराजित भएका छन् । चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा पर्साबाट उम्मेदवारी दिएका दुई जना विजयी भएका हुन् ।

रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तका अनुसार निर्वाचित हुनेहरूमा मुस्लिम कोटाबाट रहबर अन्सारी र भूगोलतर्फ (मधेस प्रदेश) बाट सुनिता चौधरी रहेका छन् । मुस्लिम कोटाबाट उम्मेदवारी दिएका अन्सारी १ हजार ४७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी बारा क्षेत्र नम्बर ४ का सांसद भए पनि पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का स्थायी बासिन्दा हुन् ।

यस्तै, मधेस प्रदेशको भूगोलतर्फबाट उम्मेदवारी दिएकी नेतृ सुनिता चौधरी १ हजार ३०७ मतसहित विजयी भएकी हुन् । उनी पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी हुन् ।

सोही विधा (मधेस प्रदेश भूगोल) बाट उम्मेदवारी दिएका अर्का युवा नेता रामबाबु कुमार सिंह भने पराजित भएका छन् । पराजित सिंहले केवल ३ सय ९७ मत मात्र प्राप्त गरेको रास्वपा पर्साले जनाएको छ । रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भएको यस निर्वाचनमा देशैभरिका प्रतिनिधिहरूले मतदान गरेका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस