२०८३ असार १३ गते, शनिबार १०:०१

शान्ति वार्तामै संकट, होर्मुज घटनापछि अमेरिका-इरान तनाव फेरि बढ्यो

न्युयोर्क –

अमेरिका र इरानबीच केही दिनअघि भएको शत्रुता अन्त्यसम्बन्धी समझदारी कार्यान्वयनकै क्रममा रहेको बेला होर्मुज जलडमरूमध्यमा कार्गो जहाजमाथि ड्रोन आक्रमण भएपछि दुवै देशबीचको तनाव पुनः चर्किएको छ। घटनाले जारी शान्ति प्रयासमा नयाँ चुनौती थपिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

बिहीबार होर्मुज जलडमरूमध्यमा सिंगापुरको झण्डावाहक कार्गो जहाज ‘एभर लभ्ली’ माथि ड्रोन आक्रमण भएको थियो। बेलायती समुद्री सुरक्षा एजेन्सी यूकेएमटीओ (UKMTO) का अनुसार ओमानको डाहिट बन्दरगाहबाट करिब ७.५ नटिकल माइल दक्षिण–पूर्वमा भएको उक्त आक्रमणमा कुनै मानवीय क्षति भएन। जहाज सञ्चालक कम्पनी एभरग्रिन ले चालक दल, जहाज र सम्पूर्ण कार्गो सुरक्षित रहेको जनाएको छ।

घटनापछि अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र तटीय राडार रहेका स्थानहरूमा सीमित हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्धविरामको “उल्लंघन” गरेको आरोप लगाएका छन् भने अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले व्यापारिक जहाजमाथिको आक्रमणको जवाफस्वरूप कारबाही गरिएको जनाएको छ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय समझदारीविपरीत भएको दाबी गर्दै अमेरिका र इजरायलमाथि आरोप लगाएको छ। इरानले यस्ता आक्रमण दोहोरिए थप कडा प्रतिक्रिया दिने चेतावनीसमेत दिएको छ।

तनावका बीच पनि अमेरिका र इरानबीच जुन १७ मा सम्पन्न १४ बुँदे समझदारीपत्र अझै कूटनीतिक प्रयासको आधार बनेको छ। उक्त समझदारीअनुसार इरानले कम्तीमा ६० दिनसम्म व्यापारिक जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको थियो। पछिल्लो घटनाले यही सहमतिको भविष्यलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढाएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समार्फत असहमति भए वार्ताबाट समाधान खोज्नुपर्ने बताए पनि हिंसात्मक गतिविधिको जवाफ दिइने चेतावनी दिएका छन्। उता, इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले वार्ताकै क्रममा अमेरिका फेरि सैन्य कारबाहीमा उत्रिएको आरोप लगाएका छन्।

यसैबीच, ओमानको राजधानी मस्कट मा इरान र ओमानका अधिकारीहरूबीच होर्मुज जलमार्गको भविष्यको व्यवस्थापनबारे छलफल भएको थियो। ओमानी विदेशमन्त्री बद्र अल–बुसैदीले “शुल्कमुक्त र सुरक्षित जलमार्ग” कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन्। यद्यपि, इरानका प्रमुख वार्ताकार मोहम्मद बगेर गालिबाफले युद्धअघिको अवस्थामै जलमार्ग सञ्चालन नफर्किने संकेत दिएका छन्।

तेल तथा ग्यास आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरूमध्यमा बढ्दो अस्थिरताले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पार्ने चिन्ता व्यक्त गरिएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (IMO) ले सुरक्षा अवस्था बिग्रिएपछि त्यहाँ फसेका ११ हजारभन्दा बढी नाविकलाई उद्धार गर्ने योजना हाललाई स्थगित गरेको जनाएको छ।

पछिल्लो घटनाक्रमले अमेरिका–इरानबीच सुरु भएको कूटनीतिक संवादलाई जोगाउने कि पुनः सैन्य तनावतर्फ फर्कने भन्ने प्रश्नलाई अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याएको छ। विश्लेषकहरूका अनुसार दुवै पक्षले आरोप–प्रत्यारोपभन्दा संवादलाई निरन्तरता दिन सके मात्र होर्मुज क्षेत्रको स्थायित्व, अन्तर्राष्ट्रिय जलयात्राको सुरक्षा र विश्व ऊर्जा बजारमा विश्वास कायम रहन सक्छ। स्रोतः बिबिसि

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस