२०८३ असार १४ गते, आईतवार २१:२६

कार्यबाहक नगरप्रमुख आलमको अगुवाइमा ठेकेदार र सफाइकर्मीबीच ८ बुँदे सहमति, फोहोर संकलन सुचारु

वीरगन्ज

वीरगन्ज महानगरपालिकामा अवरुद्ध भएको फोहोर संकलन कार्य पुनः सुचारु भएको छ। विभिन्न माग राख्दै शनिबार बिहानदेखि आन्दोलनमा उत्रिएका सफाइकर्मी र ठेकेदार कम्पनीबीच ८ बुँदे सहमति भएपछि अपराह्नदेखि फोहोर संकलन पुनः सुरु भएको हो।

वीरगन्ज महानगरपालिकाका कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको अगुवाइमा बसेको बैठकले फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी र आन्दोलनरत सफाइकर्मीबीच सहमति गराएको हो।

महानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको एन.के. इन्टरनेशनल म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक शिवकुमार गुप्ता र सफाइकर्मीका प्रतिनिधिबीच लामो छलफलपछि ८ बुँदे सहमति भएको महानगरपालिकाले जनाएको छ।

सम्झौताअनुसार सफाइकर्मीहरूको मासिक पारिश्रमिक प्रत्येक महिनाको ५ देखि १० गतेभित्र उपलब्ध गराइने भएको छ। त्यस्तै, दैनिक ८ घण्टा काम गर्ने सफाइकर्मीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराइने सहमति भएको छ।

यस्तै, ठेकेदार पक्ष वा नाइकेबाट सफाइकर्मीमाथि कुनै पनि प्रकारको अभद्र व्यवहार नगर्ने, कामका क्रममा दुर्घटना भएमा प्राथमिक उपचारको व्यवस्था ठेकेदार पक्षले गर्ने, तथा फोहोर व्यवस्थापनका लागि आवश्यक सुरक्षा सामग्री समयमै उपलब्ध गराउने सहमति पनि गरिएको छ।

सम्झौतामा ८ घण्टाभन्दा बढी काम गर्नुपर्ने अवस्थामा ओभरटाइमको व्यवस्था मिलाइने उल्लेख गरिएको छ। साथै, नागरिकता नभएका नेपाली बालिग कामदारलाई कामबाट ननिकाल्ने विषयमा पनि सहमति भएको छ।

सहमतिपत्रमा ठेकेदार कम्पनी एन.के. इन्टरनेशनल म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक शिवकुमार गुप्ता तथा आन्दोलनरत सफाइकर्मीका प्रतिनिधि भुवाली मलिक, पिन्टु मलिक, चन्दन मलिक, चन्दा देवी, अखलेश मलिक, विशाल मलिक र ट्याक्टर चालकका प्रतिनिधि किसन मलिकले हस्ताक्षर गरेका छन्।

फोहोर संकलन तथा व्यवस्थापनमा समस्या उत्पन्न भए पनि त्यसको समाधानका लागि वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा लगायत महानगरका कर्मचारीहरूको सक्रिय पहलमा सहमति सम्भव भएको बैठकमा सहभागी वीरगन्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साहले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस