२०८३ असार १४ गते, आईतवार २१:४३

बागमती नदीमा डुबेर रौतहटका दुई बालकको मृत्यु

रौतहट –

रौतहटको गढिमाई नगरपालिकामा नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका वडा नम्बर १ हरैया घाट स्थित बागमती नदीमा तैरिरहेको दाउरा निकाल्ने क्रममा डुबेर स्थानीय दुई बालकको ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा सोही स्थानमा बस्ने वर्ष ८ का आदित्य यादव र वर्ष ८ कै अनिकेस यादव रहेका छन् । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा दुवै जना अचानक गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए ।

बालकहरू नदीमा डुबेर बेपत्ता भएको खबर स्थानीयवासीले गरेलगत्तै उद्धार र खोजतलासका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस समनपुर र नेपाल प्रहरीको संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो ।

नदीको विभिन्न सम्भावित स्थानहरूमा व्यापक खोततलास गर्ने क्रममा दुवै बालक मृत अवस्थामा फेला परेका हुन् । संयुक्त टोलीले दिउँसो ३ः०५ बजे अनिकेस यादव र त्यसको केही समयपछि ३ः५० बजे आदित्य यादवको शव नदीबाट बाहिर निकालेको थियो ।

एकै गाउँका दुई अबोध बालकको नदीमा डुबेर असामयिक निधन भएपछि हरैया क्षेत्र र आसपासका स्थानीयवासी शोकमा डुबेका छन् । वर्षायाम सुरु भएसँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने भएकाले आफ्ना बालबालिकाहरूलाई नदी किनारमा एक्लै जान नदिन र सचेत रहन स्थानीय प्रशासन तथा सुरक्षा निकायले आग्रह गरेको छ ।

मृतक बालकहरूको शवलाई कानुनी प्रक्रिया र प्राविधिक जाँचका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस