काठमाडौँ–
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको दाबी गर्नुभएको छ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो। सोही क्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहसँग आफूहरूलाई सिध्याउने कुनै सामर्थ्य नरहेको र ओलीको राजनीतिक उचाइसँग शाहको तुलना हुन नसक्ने जिकिर गर्नुभयो।
‘केपी ओली नै काफी थिए’
अध्यक्ष दाहालले आफूहरूले कुनै गल्ती वा भ्रष्टाचार गरेको भए ओली नेतृत्वको अघिल्लो सरकारले पहिल्यै जेल हालिसक्ने दाबी गर्नुभयो। आफूहरूलाई कमजोर पार्न ओलीले आफ्नो सम्पूर्ण शक्ति लगाएको उहाँको आरोप थियो।
कार्यक्रममा बोल्दै दाहालले भन्नुभयो “मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ, माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले। प्रचण्डको कहिले १४० अर्ब छ दुबईमा भन्या छ, तपाईंहरू पनि दिमाग खराब भएको होला- तीन चोटी त प्रधानमन्त्री भइसक्यो जस्तो लाग्दो हो। तर, केही भएको भए यो अहिलेको सरकारले (बालेन शाहको सरकारले) केही गर्न पर्दैनथ्यो, केपी ओली नै काफी थिए।”
उहाँले थप्दै भन्नुभयो, “हाम्रो सम्पत्ति कहाँ छ, कति छ र यिनलाई कसरी फसाउने र सिध्याउने भन्ने खेलमा केपी ओली लागेका थिए। हामीलाई सिध्याउने मामिलामा केपीको हाइटमा बालेनजी हुनुहुन्न।”
आफूहरूविरुद्ध अनेकौँ प्रहार र घेराबन्दी भए तापनि देशको परिवर्तन र राजनीतिक स्थायित्वका लागि वामपन्थी आन्दोलन अपरिहार्य रहेको दाहालले उल्लेख गर्नुभयो। उहाँले देशको हितका लागि आफू फेरि पनि वामपन्थी दलहरूबीच सहकार्य र एकताको पक्षमा रहेको स्पष्ट पार्नुभयो।
“अहिलेको परिस्थितिमा फेरि पनि वामपन्थी आन्दोलन चाहिन्छ भनेर हामी लागेका छौँ,” दाहालले भन्नुभयो, “यसलाई अब हाम्रो जिम्मेवारी बोध भन्नुस् वा उदारता भन्नुस्, हामी देश र जनताका लागि सधैँ हदैसम्म लचिलो हुन तयार छौँ।”











