काठमाडौं-
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आईतबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बसेको बैठकले म्याद थपको निर्णय गरेको हो ।
यसअघि नयाँ क्रियाशील सदस्यताको फाराम वितरण तथा विवरण पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम मिति असार २० गते तोकिएको थियो । तर वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको कार्य जारी रहेकाले सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको सुझावका आधारमा समयावधि साउन ३ गतेसम्म थप गरिएको पार्टीले जनाएको छ ।
बैठकले क्रियाशील सदस्यता अद्यावधिक तथा वितरणका क्रममा कुनै समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ । त्यस्तो सिफारिसका आधारमा समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












