काठमाडौं । अमेरिका र इरानबीचको सैन्य टकराव थप खतरनाक मोडमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “मैले पुग्यो नभनेसम्म इरानमाथिको आक्रमण जारी रहनेछ” भन्दै थप सैन्य कारबाहीको चेतावनी दिएपछि इरानले पनि कडा प्रतिउत्तर दिँदै अमेरिकी आक्रमण नरोकेसम्म विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग होर्मुज जलमार्ग नखोल्ने घोषणा गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले जारी गरेको विज्ञप्तिमा अमेरिकाले सैन्य हस्तक्षेप जारी राखे जहाज आवागमनमा लगाइएको रोक नहटाइने स्पष्ट पारेको छ। इरानले “तेल र ग्यासको निर्यात या त सबैका लागि हुनेछ, नभए कसैका लागि पनि हुनेछैन” भन्दै खाडी क्षेत्रमा दबाबको रणनीति अझ कडा बनाएको संकेत दिएको छ।
उता, ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा इरानको सैन्य क्षमता कमजोर भइसकेको दाबी गर्दै आफूले आदेश नदिएसम्म अमेरिकी आक्रमण नरोकिने बताए। उनले वार्तामा नआए इरानका ऊर्जा केन्द्र, विद्युत् उत्पादन गृह र पुलजस्ता महत्वपूर्ण पूर्वाधारलाई समेत निशाना बनाइने चेतावनी दिएका छन्। उनका अनुसार अर्को हप्ता इरानका लागि अझ कठिन हुने संकेत देखिएको छ।
यसैबीच, इरानले स्थापना गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ ले क्षेत्रीय सुरक्षा र स्थायित्व कायम नभएसम्म होर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि अनुमति नदिने जनाएको छ। यद्यपि अमेरिकाले भने उक्त अन्तर्राष्ट्रिय जलमार्ग खुला रहेको दाबी गरिरहेको छ।
अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज आसपास तथा इरानको दक्षिणी तटीय क्षेत्रमा रहेका दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। ती आक्रमण व्यापारिक जहाज र नागरिक चालक दललाई लक्षित हुन सक्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्न गरिएको अमेरिकी दाबी छ।
यता, इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणी सहर, तटीय क्षेत्र तथा होर्मुज जलमार्ग आसपासका टापुहरूमा लगातार विस्फोट भइरहेको जनाएका छन्। विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति हुने होर्मुज जलमार्ग लामो समय बन्द रहने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजार, ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा नयाँ संकट गहिरिने चिन्ता बढेको छ।डीडब्ल्यू











