२०८३ असार ३२ गते, बिहीबार १८:०८

आत्महत्या बढ्दो चिन्ता : त्रिशूली नदीमा हामफालेपछि एक युवक बेपत्ता, खोजीकार्य जारी

नुवाकोट –

नेपालमा आत्मदाहदेखि आत्महत्यासम्मका घटनामा संलग्न हुने युवाको संख्या बढ्दै जाँदा यसले गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य संकटको संकेत दिएको छ। आर्थिक, पारिवारिक, सामाजिक तथा मानसिक दबाबका कारण युवाहरूले आत्महत्याजस्तो चरम कदम रोज्ने क्रम बढिरहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला नुवाकोटमा पनि यस्तै एक घटना भएको छ।

बिहीबार दिउँसो नुवाकोटको त्रिशूली बजारस्थित नयाँ पुलबाट एक युवकले त्रिशूली नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन्। प्रहरीले दिएको जानकारीअनुसार विदुर नगरपालिका–१० गेर्खु निवासी करिब ३५ वर्षीय श्यामबहादुर मग्राती दिउँसो करिब १:१० बजे पुलबाट नदीमा हामफालेका हुन्।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धार तथा खोजी कार्यमा परिचालित भएको छ। नदीमा बेपत्ता भएका मग्रातीको अवस्था अहिलेसम्म खुल्न नसकेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रारम्भिक रूपमा घटनाको प्रकृति आत्महत्याको प्रयास हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।

पछिल्ला केही वर्षयता नेपालमा आत्महत्या तथा आत्मदाहका घटनामा वृद्धि देखिन थालेपछि मानसिक स्वास्थ्य सेवा विस्तार, समयमै परामर्श तथा जोखिममा रहेका व्यक्तिको पहिचानमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता झन् बढेको विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस