२०८३ असार ३२ गते, बिहीबार १८:०२

धान रोपिरहेका बेला चट्याङ पर्दा पर्सामा सातजना घाइते


वीरगन्ज ।

धान रोपिरहेको बेला चट्याङ पर्दा पर्सामा सातजना महिला घाइते भएका छन् । पर्साको पकहाँ मैनपुर गाउँपालिका– १ धोरेमा यो घटना भएको प्रहरीले जानकारी दिएको छ । पर्सा पकहाँ मैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सातजना महिला घाइते भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार उक्त घटनामा परी सोही गाउँपालिका–१ की अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, अन्दाजी ५५ वर्षीया राधिका देवी सहनी, अन्दाजी ५५ वर्षीया रिता देवी सहनी घाइते भएका छन् ।घाइते हुने अन्यमा सोही स्थानका अन्दाजी ५२ वर्षीया कुश्मी देवी सहनी, अन्दाजी ४२ वर्षीया सन्ध्या देवी, अन्दाजी ३५ वर्षीया प्रमिला सहनी र अंन्दाजी ३५ वर्षीया संगीता देवी छन् ।

घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । अन्य ६ जना घाइतेहरूको भने भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस