२०८३ श्रावण ५ गते, मंगलवार ०५:३०

अनलाइन ठगीको जालोमा युवा पुस्ता, वीरगन्जबाट दुई युवक पक्राउ

वीरगन्ज –

सामाजिक सञ्जाल र मोबाइल प्रविधिको दुरुपयोग गर्दै अनलाइन ठगी गर्ने क्रम बढिरहेका बेला पर्सा प्रहरीले दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने अपराधमा युवा पुस्ताको बढ्दो संलग्नता राज्यका लागि गम्भीर चुनौती बन्दै गएको प्रहरीको भनाइ छ ।

फेसबुकमार्फत वीरगन्ज महानगरपालिका–१६ निवासी शिवपुजन बैठासँग २ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का २० वर्षीय जस्मुदिन अन्सारी र पर्साको बहुदरमाई नगरपालिका–१ का २० वर्षीय विशाल पटेल रहेका छन् । प्रहरीले झुटा विवरण प्रयोग गरी तथा अन्य व्यक्तिको नाममा निकालिएको मोबाइल सिमकार्डबाट नक्कली फेसबुक प्रोफाइल बनाएर अनलाइन ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका दुवै जनालाई वीरगन्ज महानगरपालिका–८ बाट साउन २ गते पक्राउ गरिएको हो ।

उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, डिजिटल वालेट र अन्य विद्युतीय माध्यमको दुरुपयोग गरी ठगी गर्ने घटनामा वृद्धि भइरहेको छ । विशेषगरी कम उमेरका युवाहरू नै यस्ता अपराधमा संलग्न हुने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ ।

प्रविधिको पहुँच विस्तारसँगै अपराधको स्वरूप पनि परम्परागत ठगीबाट डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेको छ । झुटा पहिचान, नक्कली सामाजिक सञ्जाल खाता र अरूको नाममा निकालिएका सिमकार्ड प्रयोग गरी सर्वसाधारणलाई विश्वासमा पारेर रकम असुल्ने प्रवृत्तिले राज्यसामु साइबर अपराध नियन्त्रणको नयाँ चुनौती थपेको छ ।

प्रहरीका अनुसार आर्थिक लाभको लोभ, प्रविधिको सहज पहुँच र साइबर अपराधसम्बन्धी कानुनी तथा नैतिक चेतनाको कमीका कारण युवाहरू यस्ता गतिविधिमा आकर्षित हुने गरेका छन् । यसले व्यक्तिगत ठगीको घटना मात्र नभई डिजिटल कारोबारको सुरक्षा र सामाजिक विश्वासमाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस