२०८३ श्रावण ५ गते, मंगलवार ०७:२३

करोडौँ मूल्यको कोकिनसहित दुई विदेशी महिला पक्राउ

वीरगन्ज

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ४ किलो २५८ ग्राम कोकिनसहित दुई विदेशी महिलालाई काठमाडौंमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कोलम्बियाकी ६२ वर्षीया योनेथ हार्जोन काइसेडो र भारतको मणिपुरकी ३७ वर्षीया रिबेका पुल्ले रहेका छन्।

प्रहरीका अनुसार कतार एयरवेजबाट असार ३१ गते काठमाडौं आएकी काइसेडोमाथि शंका लागेपछि काठमाडौं महानगरपालिका–१६, ठमेलमा चेकजाँच गरिएको थियो। उनको सुटकेसको गोप्य कोठाबाट बरामद ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलोमा सिलिकनसँग मिसाएर कोकिनको लेप लगाइएको पाइएको प्रहरीले जनाएको छ।

सुटकेसमा रहेका ती सामग्रीको थप जाँच गर्दा ४ किलो २५८ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काइसेडोसँग रहेको लागूऔषध खरिद गर्न भारतको मणिपुरबाट काठमाडौं आएकी रिबेका पुल्लेलाई समेत साउन ३ गते ठमेलबाटै पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बरामद कोकिनको अवैध बजार मूल्य १३ करोड रुपैयाँभन्दा बढी रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस