२०८३ श्रावण ६ गते, बुधबार ०९:१२

नेपालमा डेंगीको जोखिम बढिरहेका बेला भारतमा पहिलो खोप स्वीकृत, नेपालमा पनि खोपको आवश्यकता

काठमाडौं –

नेपालमा वर्षायामसँगै डेंगी संक्रमणको जोखिम बढिरहेका बेला भारतले पहिलोपटक डेंगीविरुद्धको खोप प्रयोगका लागि स्वीकृति दिएको छ। भारतमा डेंगीविरुद्धको खोप स्वीकृत भएसँगै नेपालमा पनि डेंगी नियन्त्रणका लागि खोपको सम्भावना र आवश्यकताबारे बहस सुरु भएको छ।

नेपालमा पछिल्लो समय डेंगी संक्रमण देशका अधिकांश भूभागमा फैलिँदै गएको छ। पछिल्लो उपलब्ध विवरणअनुसार यस वर्ष हालसम्म १ हजार ४२ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने दुई जनाको मृत्यु भएको छ। संक्रमण ७१ जिल्लामा देखिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। वर्षायाम सुरु भएसँगै लामखुट्टेको प्रजननस्थल बढ्ने भएकाले संक्रमण थप फैलिन सक्ने जोखिम रहेको छ।

नेपालमा डेंगी संक्रमण सामान्यतया असारदेखि बढ्न थालेपछि साउन–भदौमा उच्च हुने र असोजसम्म जोखिम कायम रहने स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्। पछिल्लो समय डेंगी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान र जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि संक्रमणको जोखिम पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन।

यही पृष्ठभूमिमा भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले जापानी औषधि कम्पनी टाकेडाको ‘क्युडेंगी’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका मानिसमा प्रयोग गर्न स्वीकृति दिएको हो।

खोपको सुरक्षा, गुणस्तर र प्रभावकारिताको विस्तृत समीक्षा गरेपछि स्वीकृति दिइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोपका दुई मात्रा तीन महिनाको अन्तरालमा लगाउनुपर्नेछ। यसले डेंगी भाइरसका चारवटै सेरोटाइपविरुद्ध सुरक्षा प्रदान गर्ने बताइएको छ।

भारतमा पहिलोपटक डेंगी खोप स्वीकृत हुनु नेपालका लागि पनि महत्वपूर्ण विषय भएको स्वास्थ्य क्षेत्रका विज्ञहरूको भनाइ छ। खुला सीमाना, समान भौगोलिक तथा जलवायु अवस्था र नेपाल–भारतबीचको उच्च आवतजावतका कारण डेंगी नियन्त्रणमा क्षेत्रीय सहकार्य तथा प्रभावकारी रोकथाम रणनीति आवश्यक देखिएको छ।

‘क्युडेंगी’ले युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड र इन्डोनेसियासहित ४२ देशमा स्वीकृति पाइसकेको छ भने विश्व स्वास्थ्य संगठनको प्रिक्वालिफिकेसनसमेत प्राप्त गरेको छ। हालसम्म यसको दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको बताइएको छ।

भारतले यो खोप निजी स्वास्थ्य संस्थामार्फत सन् २०२७ को पहिलो छमाहीदेखि उपलब्ध गराउने तयारी गरेको छ। भारतमा उत्पादन क्षमता विस्तार गर्न टाकेडाले भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरेको छ।

नेपालमा पनि डेंगी संक्रमण हरेक वर्ष दोहोरिने र वर्षायाममा जोखिम बढ्ने भएकाले खोपको प्रभावकारिता, लागत, उपलब्धता र लक्षित समूहबारे सरकारले अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी संक्रमणको उच्च जोखिममा रहेका क्षेत्र र समूहलाई लक्षित गरी खोपसम्बन्धी नीति बनाउनुपर्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको सुझाव छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगी संक्रमणको जोखिममा छ। प्रत्येक वर्ष विश्वभर १० करोडदेखि ४० करोडसम्म डेंगी संक्रमण हुने अनुमान गरिएको छ।

यसैबीच, भारतीय कम्पनी प्यानासिया बायोटेकले विकास गरेको ‘डेंगीअल’ नामक खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा छ। स्वीकृति पाएमा यो विश्वकै प्रारम्भिक एक मात्रा लगाउनुपर्ने डेंगी खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस