२०८३ श्रावण ६ गते, बुधबार १७:२७

मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने स्थिती आउँछ : प्रचण्ड

जनकपुर –

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए । 

उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मधेशमा राम्रो पार्टी बनाउन नसकिए देश र कम्युनिष्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सृजना हुन सक्ने उल्लेख गरे । मधेशमा संगठन विस्तार र एकतालाई प्राथमिकतामा राख्नुर्नेमा उनले जोड दिए ।

संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहेपनि अन्तिम समयमा अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा आउन नसकेको स्वीकार्दै पार्टीले यस विषयमा गम्भीर समीक्षा गर्ने जानकारी दिए ।

पार्टी संगठन विस्तारका लागि नयाँ ढंगले अभियान सञ्चालन गरिने उल्लेख गर्दै उनले युवालाई नेतृत्वमा प्राथमिकता दिने बताए । पार्टी समितिमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ सबैलाई अगाडि बढ्न उनले सुझाव दिए ।

संयोजक प्रचण्डले मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई अझ सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस