२०८३ श्रावण ७ गते, बिहीबार १५:३७

मधेसका सरकारी कार्यालयमा घुसखोरीको जालो : ५ लाख घुससहित कर अधिकृत पक्राउ

वीरगन्ज –

मधेस प्रदेशका स्थानीय तहदेखि सरकारी कार्यालयसम्म भ्रष्टाचार र घुसखोरीका घटना बढिरहेका बेला सिरहामा ५ लाख रुपैयाँ घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुमै ५ लाख रुपैयाँ घुस मागेका थिए। घुस नदिएसम्म अडिट प्रक्रिया अघि नबढाउने भन्दै कम्पनीसँग आवश्यक कागजात पेस गराइएको आरोप छ।

अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा कम्पनीमाथि करिब २ करोड रुपैयाँसम्म दायित्व निर्धारण हुने जनाएको थियो। कम्पनीले थप कागजात पेस गर्दै गएपछि कर दायित्व अझै ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने बताइएको थियो।

यसै क्रममा कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको आरोप छ। कम्पनीले आफ्नो आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको स्रोतको दाबी छ।

मधेस प्रदेशमा पालिका, मालपोत, नापी, राजस्व, यातायात तथा अन्य सरकारी कार्यालयमा सेवाग्राहीसँग घुस मागिएका घटनाहरू सार्वजनिक भइरहेका बेला राजस्व कार्यालयका अधिकृत नै घुससहित पक्राउ पर्नुले सरकारी संयन्त्रभित्र मौलाउँदै गएको भ्रष्टाचारको गम्भीर अवस्था उजागर गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस