२०८३ श्रावण ९ गते, शनिबार १०:२७

मधेसमा खुलमखुला घुसको खेल : सिँचाइ कार्यालयका प्रमुख र अधिकृत ८ लाख २१ हजारसहित पक्राउ

सर्लाही –

मधेस प्रदेशमा सरकारी कार्यालयमा खुलेआम घुस लेनदेनका घटना एकपछि अर्को सार्वजनिक भइरहेका बेला सर्लाहीमा सिँचाइ कार्यालयका प्रमुख र अधिकृत नै घुस रकमसहित पक्राउ परेका छन्।

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार १ सय १५ रुपैयाँ घुस तथा स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुख ढकालको क्वार्टरमा छापा मारेको थियो।

खानतलासीका क्रममा ढकाल बसेको सोफाबाट सेवाग्राहीसँग लिएको ७ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ। त्यसैगरी, खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार १ सय १५ रुपैयाँ पनि बरामद गरिएको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

अख्तियारका अनुसार विभिन्न जल उपभोक्ता समितिमार्फत बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत सेवाग्राहीसँग घुस मागेकी थिइन्।

ढकालकै निर्देशनमा मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

मधेस प्रदेशका विभिन्न सरकारी तथा स्थानीय तहका कार्यालयमा घुस लेनदेनका घटना लगातार सार्वजनिक भइरहेका बेला सिँचाइ कार्यालयका प्रमुख र अधिकृत नै घुस रकमसहित पक्राउ पर्नुले प्रदेशमा भ्रष्टाचारको जालो कति गहिरिँदै गएको छ भन्ने प्रश्न उठाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस