२०८३ श्रावण ११ गते, सोमबार ०८:३१

सुनसरीमा बिग्रँदो शान्ति सुरक्षा : प्रहरीको गोली लागेर एकजनाको मृत्यु, १८ घाइते

विराटनगर –

सुनसरीमा शान्ति सुरक्षा अवस्था बिग्रँदै गएको देखिएको छ । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । गम्भीर घाइते मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए ।

घटनामा नौ प्रहरीसहित १८ जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच र प्रदर्शनकारीतर्फ नौ जना छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोलबम यात्राका लागि एउटा समूह राति ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै थियो । सोही क्रममा अर्को समूहले होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद बढ्दै दुई पक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको र झडप नियन्त्रणका क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । सम्भावित तनाव र थप हिंसा रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच प्रमुख क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनका अनुसार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लागू हुनेछ ।

एकातर्फ दुई पक्षबीचको झडपमा सर्वसाधारण घाइते हुनु र अर्कोतर्फ स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली चल्दा एकजनाको मृत्यु हुनु घटनाको गम्भीरतासँगै जिल्लाको शान्ति सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ । घटनापछि सम्बन्धित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले स्थानीयवासीलाई शान्ति कायम राख्न र कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस