२०८३ श्रावण ११ गते, सोमबार ०९:३०

वीरगन्जको जय नेपाल होटलबाट दुई जना लागूऔषध कारोबारी पक्राउ

वीरगन्ज –

प्रतिबन्धित लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ बाट प्रहरीले उनीहरूलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको हो।

होटलको कोठामा बसेर प्रतिबन्धित लागूऔषधको कारोबार सञ्चालन गरिरहेको आरोपमा चितवनको रत्ननगर नगरपालिका–६ का ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगन्ज महानगरपालिका–२, छपकैयाका ३५ वर्षीय ओसिम ठकुराई पक्राउ परेका हुन्।

सीमावर्ती क्षेत्रमा अवस्थित जय नेपाल होटलबाट प्रतिबन्धित लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले कारबाही गरेको थियो।

कारबाहीका क्रममा होटलको कोठा नम्बर ११८ बाट ‘NITCOR-10’ लेखिएको २० पत्तामा रहेका २०० थान ट्याब्लेट तथा ‘ONEREX’ लेखिएको १०० मिलिलिटरका दुई बोतल लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस