वीरगन्ज–
नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएपछि सयौँ बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिक (इमर्जेन्सी) र बहिरंग (ओपीडी) सेवा बन्द गरेपछि टाढाटाढाबाट उपचारका लागि आएका बिरामी उपचार नगराई घर फर्किन बाध्य भएका हुन्।
नारायणी अस्पतालको इमर्जेन्सी शाखामा कार्यरत चिकित्सक डा. प्रमोद राममाथि गत शनिबार भएको कुटपिटको विरोधमा चिकित्सकहरूले आइतबारदेखि नै इमर्जेन्सी सेवा बन्द गरेका थिए। सोमबार बिहानदेखि बहिरंग (ओपीडी) सेवा समेत बन्द गरेपछि अस्पतालमा उपचारका लागि आएका बिरामीहरू प्रभावित भएका छन्।
बारा, पर्सा, रौतहट, सर्लाही तथा सीमावर्ती भारतीय सहरहरूबाट दैनिक एक हजार दुई सयभन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पताल आउने गरेका छन्। अस्पताल प्रशासनका अनुसार इमर्जेन्सीमा मात्रै दैनिक दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिने गरेका छन्।
वीरगन्जमा निजी अस्पतालहरू भए पनि आर्थिक रूपमा विपन्न तथा न्यून आय भएका नागरिकका लागि नारायणी अस्पताल उपचारको मुख्य केन्द्र हो। त्यसैले अस्पतालमा जारी आन्दोलन चाँडै अन्त्य गरी सेवा सुचारु गर्न बिरामीहरूले आग्रह गरेका छन्।
रौतहटबाट उपचारका लागि नारायणी अस्पताल आएका एक बिरामीले अस्पतालको सेवा बन्द हुँदा उपचार गराउन नपाएको गुनासो गरे। निजी अस्पतालमा उपचार गराउने आर्थिक अवस्था नरहेको भन्दै उनले आफू समस्यामा परेको बताए।
चिकित्सकमाथि कुटपिटमा संलग्न दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सकहरूले बताएका छन्। यसैबीच, चिकित्सकमाथि भएको कुटपिटको विरोध तथा दोषीलाई कारबाहीको माग गर्दै सोमबार वीरगन्जको घण्टाघर चोकमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।
यस विषयमा नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघ पर्साले सेवा बन्द गरी आन्दोलनमा उत्रिने घोषणा गरेको जानकारी दिए। आन्दोलनरत चिकित्सक र अस्पताल प्रशासनबीच सोमबार अपराह्न छलफल हुने जानकारी दिँदै उनले छलफलबाट ठोस निर्णय निस्कने बताए।
आन्दोलनरत चिकित्सकहरूको मुख्य माग सुरक्षाको प्रत्याभूति रहेको भन्दै डा. सिंहले छलफलबाट सहमति भए सोमबारदेखि नै अस्पतालका सेवाहरू सुचारु हुने सम्भावना रहेको बताए।
साउन ९ गते शनिबार उपचारका लागि इमर्जेन्सीमा आएका वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारजन तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै चिकित्सकमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट इमर्जेन्सीमा कार्यरत चिकित्सक डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनको नारायणी अस्पतालकै सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
हृदयघात (कार्डियाक अरेस्ट) भएपछि उपचारका लागि अस्पताल ल्याइएका पटेलको उपचारकै क्रममा मृत्यु भएको थियो। त्यसपछि उनका परिवारजन तथा आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। घटनापछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल गरी घटनाको छानबिन गर्न समिति गठन गरिएको थियो। साथै, इमर्जेन्सीमा कार्यरत सात जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि सेवाबाट हटाउने निर्णयसमेत गरिएको थियो।











