सुनसरी –
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा स्थानीयको प्रदर्शन र झडपपछि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। कर्फ्यु आदेश जारी रहेकै अवस्थामा स्थानीयले प्रदर्शन जारी राखेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गरेको छ।
आइतबार राति दुई पक्षबीच झडप भएपछि सुरक्षाकर्मीले गरेको कारबाही र गोली प्रहारका क्रममा एक स्थानीयको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सोमबार बिहानैदेखि स्थानीय आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्जसहित पाँचवटा क्षेत्रमा बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। तर, कर्फ्युको अवज्ञा गर्दै स्थानीयले कप्तानगञ्जमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएका छन्।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड भएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि स्थानीयले बिहानैदेखि प्रदर्शन जारी राखेका थिए।
स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको टोलीले बख्तरबन्द गाडीसहित कप्तानगञ्जका सडकमा गस्ती सुरु गरेपछि अहिले अवस्था केही मत्थर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैबीच, देवानगञ्ज घटनाको विरोधमा जिल्ला सदरमुकाम इनरुवा र लौकही बजारमा समेत प्रदर्शन भएको छ। इनरुवामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् भने लौकहीमा युवाहरूले घटनाको विरोधमा प्रदर्शन गरेका छन्।
घटनामा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच, घटनाको समग्र अवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक भइरहेको छ। बैठकमा राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरूको सहभागिता रहेको छ।











