२०८३ श्रावण १२ गते, मंगलवार १८:४७

चिकित्सकमाथि एसपी पाठकको व्यवहार अलोकतान्त्रिक भएको सर्वदलीय बैठकको ठहर

वीरगन्ज

जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा सोमबार पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकले चिकित्सकहरूसँग गरेको व्यवहार अमर्यादित र अलोकतान्त्रिक भएको पर्साका विभिन्न राजनीतिक दलका नेताहरूले ठहर गरेका छन्।

वीरगन्ज महानगरपालिका–२४, रामगढवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले उक्त निष्कर्ष निकालेका हुन्।

नारायणी अस्पतालमा देखिएको समस्या समाधानका लागि बोलाइएको वार्ताका क्रममा एसपी पाठकले वार्ता, संवाद र सहकार्यको भावना प्रदर्शन गर्नुको सट्टा चिकित्सकहरूलाई डर, त्रास र धम्की दिने जस्ता अमर्यादित तथा अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको भन्दै बैठकले चिन्ता व्यक्त गरेको छ।

बैठकमा सहभागी एक नेताका अनुसार, जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखजस्तो संवेदनशील र जिम्मेवार पदमा रहेका अधिकारीले सार्वजनिक रूपमा चिकित्सकलाई डर, त्रास र धम्की दिँदै मानमर्दन गर्नु अत्यन्तै आपत्तिजनक विषय हो। मुलुकमा विधिको शासन कायम रहेको अवस्थामा शक्ति र पदको दुरुपयोग गर्दै एसपी पाठकले भय र त्रासको वातावरण सिर्जना गर्नु गलत भएको ठहर गर्दै घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग गरिएको छ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तुलसा पौडेल अधिकारी, नेकपा (एमाले) पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, नेकपा पर्साका अध्यक्ष जयप्रकाश थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साका अध्यक्ष सोमेश्वर उपाध्याय, जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव तथा जनमत पार्टी पर्साका नेता मनोज साहलगायतको सहभागिता रहेको थियो।

बैठकले वीरगन्जस्थित नारायणी अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा देखिएको समस्याको समाधान गरी औषधोपचार सेवालाई सहज बनाउन सम्बन्धित सबै पक्षसँग ६ बुँदे अपिल जारी गरेको छ।

बैठकले नारायणी अस्पताललगायत देशभरका स्वास्थ्य संस्थामा अवरुद्ध औषधोपचार सेवाप्रति गहिरो चिन्ता व्यक्त गर्दै साउन ९ गते उपचारका क्रममा निधन भएका वीरगन्ज महानगरपालिका–२५, सिर्सिया निवासी राजकुमार पटेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।

यस्तै, नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा कार्यरत चिकित्सक डा. प्रमोद रामलगायत स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन बैठकले माग गरेको छ। घाइते चिकित्सकहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने पनि बैठकले जनाएको छ।

सर्वदलीय बैठकले नारायणी अस्पतालको घटनाबारे विज्ञको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, नारायणी अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा देखिएको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षलाई गम्भीर पहल गर्न अपिल गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस