काठमाडौं –
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत स्वरूपमा मात्र सीमित नरहेको बताए । उनका अनुसार विगतमा मानव बेचबिखन मुख्यतः यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता गतिविधिमा केन्द्रित भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप प्रविधिमा आधारित अपराधतर्फ विस्तार हुँदै गएको छ ।
उनले आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पु¥याउने, त्यसपछि बन्धक बनाएर डिजिटल प्लेटफर्ममार्फत अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न हुन बाध्य पार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे ।
‘पछिल्ला वर्षहरूमा आकर्षक रोजगारीको प्रलोभनमा पारी विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याम गर्न लगाइने घटनाहरू बढेका छन,’ उनले भने ।
कार्कीले मानव बेचबिखन अहिले अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधको रूपमा विकसित भएको बताए । त्यसैले यसलाई केवल परम्परागत मानव बेचबिखनको दृष्टिकोणबाट मात्र हेर्न नहुने उनको भनाइ थियो । उनले मानव बेचबिखन नियन्त्रणका लागि साइबर अपराध, आर्थिक अपराध तथा अन्तर्राष्ट्रिय संगठित अपराधसँगको अन्तरसम्बन्धलाई समेत ध्यानमा राखेर अध्ययन, अनुसन्धान र नियन्त्रणका रणनीति तयार गर्नुपर्ने आवश्यकता औँल्याए ।
आईजीपी कार्कीले बदलिँदो चुनौतीसँग जुध्न कानुनी, प्राविधिक तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मानव बेचबिखनविरुद्धको अभियानमा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।











