२०८३ श्रावण १४ गते, बिहीबार ११:५२

जुत्ताको सोलभित्र ब्राउन सुगर लुकाएर हवाईमार्गबाट पठाउने प्रयास, लागुऔषध कारोबारीको नयाँ युक्ति पर्दाफास

विराटनगर

लागुऔषध कारोबारीहरूले प्रहरीको निगरानी छल्न दिनानुदिन नयाँ–नयाँ युक्ति अपनाउन थालेका छन्। पछिल्लो घटनामा स्पोर्ट्स जुत्ताको सोलभित्र ब्राउन सुगर लुकाएर हवाईमार्ग हुँदै काठमाडौं पठाउने प्रयास गरिएको खुलासा भएको छ।

विराटनगर विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा एक्स–रे मेसिनले शंकास्पद वस्तु देखाएपछि गरिएको विस्तृत परीक्षणमा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार उक्त स्पोर्ट्स जुत्ता विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाइँदै थियो। कार्गो सामान विमानस्थलको प्रस्थान केन्द्रमा नियमित सुरक्षा परीक्षणका क्रममा एक्स–रे मेसिनले अस्वाभाविक वस्तु देखाएपछि जुत्ता खोलेर जाँच गर्दा लागुऔषध फेला परेको हो।

बरामद गरिएको कार्गो विराटनगर–५ निवासी राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको प्रहरीले जनाएको छ। सामान कुरियर गर्न आएका विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोबारीहरूले कपडा, जुत्ता, विद्युतीय सामग्री, खाद्यवस्तु तथा कुरियर पार्सलभित्र लागुऔषध लुकाएर विभिन्न जिल्लामा पठाउने नयाँ शैली अपनाइरहेका छन्। यस घटनाले पनि अवैध कारोबारका लागि प्रयोग भइरहेका यस्ता नयाँ तरिकामाथि सुरक्षा निकायले अझ कडा निगरानी आवश्यक रहेको देखाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस