काठमाडौं –
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए ।
उनले लामो समयदेखि प्रधानमन्त्रीलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन पुनः अनुरोध गरे । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने उनले बताए ।
उनले भने,‘ हामीले लामो समयदेखि प्रधानमन्त्रीज्यूलाई आफ्नो विवादित अभिव्यक्ति सच्याउन भनी नै रहेका छौँ । तर उहाँले यो संसदको कुनै मर्यादा कायम गर्नुभएको छैन । फेरि पनि म हाम्रो पार्टीको तर्फबाट, दलको तर्फबाट स्मरण गराउन चाहन्छु र यो रोष्टमबाट उहाँले जुन विवादित अभिव्यक्ति दिनुभएको थियो, त्यो सच्याउनका लागि अनुरोध गर्न चाहन्छु र अभिव्यक्ति नसच्याउन्जेलसम्म विरोध जारी रहने कुरा पनि मैले यहाँ भन्न चाहन्छु ।’
सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिंगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए । तर प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीप्रति प्रश्न उठेको उनको भनाइ थियो ।
उनले भने,‘सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिंगो देशलाई तरंगित बनाएको छ र स्तब्ध बनाएको छ । यस्तो संवेदनशील अवस्थामा पनि हाम्रा प्रधानमन्त्रीज्यूले संसदमा आएर देशभारलाई एउटा त्यहाँको विषयवस्तुबारे, त्यहाँको घटनाबारे र त्यहाँको समग्र अवस्थाबारे जानकारी दिनुपथ्र्यो तर प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? न संसदलाई न कसैलाई जानकारी छ । उल्टो गृहमन्त्रीज्यूले धम्की दिँदै भन्नुहुन्छ, ‘कहिले, यो गृहमन्त्री चाहिएको छ भने लैजाऊ’ भनेर सार्वजनिक रूपमा भन्न र यस्तो अराजक गतिविधि के रे अभिव्यक्ति दिन भ्याउनुहुन्छ ।’
उनले गृहमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै सरकार अभिभावकको भूमिकामा प्रस्तुत हुनुपर्ने धारणा राखे । कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको मृत्युको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो ।
शर्माले विगतमा यस्ता घटनामा राज्य र सरकारको नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्ने वर्तमान नेतृत्वले अहिले पनि त्यही जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।












