सर्लाही–
मधेस प्रदेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव र शान्ति–सुरक्षा खलबल्याउने उद्देश्यले बाह्य चलखेल बढ्न सक्ने आशंकापछि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ। सोही रणनीतिअनुसार भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुलाई अब अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिइने निर्णय गरिएको छ।
सर्लाही जिल्ला सुरक्षा समितिको बैठकले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय गर्दै भारतबाट नेपाल भित्रिने प्रत्येक व्यक्तिले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था लागू गरेको हो।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मधेसका विभिन्न जिल्लामा विकसित भइरहेका घटनाक्रमलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सीमा नाकामा कडाइ गरिएको हो। प्रशासनले कुनै पनि अवाञ्छित व्यक्ति वा समूहले सीमाको दुरुपयोग गरी अशान्ति फैलाउने प्रयास गर्न नपाओस् भन्ने उद्देश्यले परिचयपत्र अनिवार्य गरिएको जनाएको छ।
यद्यपि बिहीबार साँझसम्म सर्लाहीको समग्र शान्ति–सुरक्षा अवस्था सामान्य रहेको प्रशासनको भनाइ छ। तर शुक्रबार सदरमुकाम मलंगवामा बजार बन्द गराइएको छ भने विभिन्न स्थानमा प्रदर्शनसमेत भएको प्रहरीले जनाएको छ।
प्रशासनले सीमावर्ती क्षेत्रका बासिन्दा तथा यात्रुलाई सुरक्षा निकायसँग सहकार्य गर्न, आवश्यक कागजात साथमा राख्न तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन आग्रह गरेको छ।












