२०८३ श्रावण १६ गते, शनिबार १०:२१

जनकपुरधाममा आज सद्भाव र्‍याली, धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षको आह्वान

जनकपुरधाम

मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि विकसित सुरक्षा संवेदनशीलतालाई सामान्य अवस्थामा फर्काउन तथा धार्मिक सद्भाव र सामाजिक एकता सुदृढ बनाउन प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र स्थानीय समुदायले संयुक्त पहललाई तीव्र बनाएका छन्। शान्तिपूर्ण सहअस्तित्व नै वर्तमान परिस्थितिबाट निकास निकाल्ने प्रभावकारी आधार भएको भन्दै सबै पक्षले संयम, संवाद र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

यसैक्रममा जनकपुरधाममा आज सर्वपक्षीय सहभागितामा ‘सद्भाव र्‍याली’ आयोजना हुँदैछ। र्‍यालीमार्फत समुदायबीचको भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश प्रवाह गरिने आयोजकहरूले बताएका छन्।

शुक्रबार जनकपुरधाममा बसेको सर्वपक्षीय सद्भाव समितिको बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, सञ्चारकर्मी, नागरिक समाज, जनप्रतिनिधि तथा सर्वसाधारण सबैको सक्रिय भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। बैठकले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना, घृणा फैलाउने सामग्री तथा उत्तेजनात्मक अभिव्यक्तिले समाजमा तनाव बढाउन सक्ने भन्दै यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।

बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादव, रामविनोद यादव, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायतले धार्मिक विविधता नेपालको साझा सम्पत्ति भएकाले कुनै पनि बहानामा सामाजिक सद्भाव बिग्रन नदिन सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले संवाद, सहकार्य र कानुनको पालना नै दीर्घकालीन शान्तिको आधार भएको बताएका छन्।

यता जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको अनिश्चितकालीन कर्फ्यु दोस्रो दिन पनि यथावत् राखेको छ। सम्भावित अप्रिय घटना रोक्न नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन बढाइएको प्रशासनले जनाएको छ। शुक्रबार बिहान केही समयका लागि कर्फ्यु आंशिक रूपमा खुकुलो बनाए पनि त्यसपछि पुनः कडाइ गरिएको थियो। बजार, यातायात र दैनिक जनजीवनमा यसको प्रत्यक्ष प्रभाव परेको छ।

महोत्तरीको जलेश्वर र गौशालामा प्रदर्शन भएका छन् भने सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका बालकको घटनापछि मृतकको घरअगाडि स्थानीय र सुरक्षा निकायबीच केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। गृहमन्त्री सुधन गुरुङ मृतक परिवारलाई भेट्न जाने क्रममा त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा शनिबार सर्वपक्षीय सद्भाव र्‍याली निकालिँदैछ। क्षेत्र नम्बर ४ का सांसद सिताराम साहसहित विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक समुदायका प्रतिनिधिको सहभागितामा हुने र्‍यालीले धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी भाइचाराको सन्देश प्रवाह गर्नेछ।

यद्यपि सप्तरी प्रशासनले राजविराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्युलाई निरन्तरता दिएको छ। प्रशासनका अनुसार सार्वजनिक सुरक्षा कायम राख्न आवश्यक सुरक्षा व्यवस्था अपनाइएको छ।

मधेश प्रदेशका विभिन्न जिल्लामा विकसित परिस्थितिलाई सामान्य बनाउन सुरक्षा व्यवस्थासँगै संवाद, सहिष्णुता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने प्रयासलाई समान रूपमा अघि बढाइएको छ। प्रशासन तथा सर्वपक्षीय नेतृत्वले नागरिकलाई अफवाहमा विश्वास नगर्न, धार्मिक तथा सामाजिक भावनामा आघात पुग्ने गतिविधिबाट टाढा रहन, कानुनको सम्मान गर्न र शान्ति कायम गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न पुनः आह्वान गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस