भैरहवा-
मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको धार्मिक तनाव र सामाजिक असहिष्णुतालाई मत्थर पार्दै राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउन देशका विभिन्न जिल्लामा नागरिकस्तरबाट सद्भाव र्याली र शान्ति अभियान सञ्चालन हुन थालेका छन्। समाजमा आपसी विश्वास, भाइचारा र सहअस्तित्वको वातावरण कायम गर्न सबै समुदायले संयमता अपनाउनुपर्ने सन्देशसहित विभिन्न क्षेत्रका नागरिक सडकमा उत्रिएका हुन्।
यसैक्रममा रुपन्देहीको भैरहवामा शनिबार बिहान उद्योगी–व्यवसायी तथा सामाजिक संघ–संस्थाले मुलुकमा शान्ति, धार्मिक सद्भाव र सामाजिक एकताको कामना गर्दै विशाल सद्भाव र्याली आयोजना गरेका छन्।
चेम्बर अफ कमर्श तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको नेतृत्वमा आयोजित र्यालीमा उद्योगी, व्यवसायी, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।
भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको र्याली बर्मेली टोल हुँदै मुख्य बजारको मिलनचोकमा पुगेर सम्पन्न भएको थियो। सहभागीहरूले कुनै पनि धर्म, जात वा समुदायबीच विभाजन सिर्जना गर्ने गतिविधिको विरोध गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै नागरिकले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
र्यालीका वक्ताहरूले नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले कुनै पनि प्रकारको उत्तेजना, अफवाह वा घृणाजन्य गतिविधिले समाजलाई कमजोर बनाउने उल्लेख गर्दै संवाद, सहिष्णुता र आपसी सम्मानबाट मात्रै स्थायी शान्ति कायम गर्न सकिने धारणा व्यक्त गरेका थिए।
मधेश प्रदेशका विभिन्न जिल्लामा विकसित परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले देशभर सुरु भएका यस्ता सद्भाव अभियानले सामाजिक विश्वास पुनःस्थापित गर्न सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। साथै, शान्ति र धार्मिक सद्भाव कायम राख्न सरकार, प्रशासन, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।












