२०८३ श्रावण १६ गते, शनिबार ११:०८

सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिँदै जनकपुरधाममा सद्भाव र्‍याली

जनकपुरधाम-

मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि विकसित परिस्थितिबीच सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, आपसी भाइचारा र राष्ट्रिय एकताको भावना सुदृढ बनाउन जनकपुरधाममा शनिबार सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आयोजित र्‍यालीमा विभिन्न धर्म, जाति र समुदायका नागरिक, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले विविधताबीचको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारको विभाजन, घृणा र हिंसाभन्दा सामाजिक सहअस्तित्व, संवाद र पारस्परिक सम्मानलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

रेलवे स्टेशनबाट सुरु भएको र्‍याली भानुचोक, जनकचोक, सोनारपट्टी हुँदै पुनः जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले ‘नेपाली एकता जिन्दावाद’, ‘हामी सबै एक हौँ’ लगायतका नारामार्फत सामाजिक एकता, धार्मिक सहिष्णुता र राष्ट्रिय सद्भावको सन्देश प्रवाह गरेका थिए।

र्‍यालीमा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषा–२ का प्रतिनिधिसभा सदस्य रामविनोद यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहसहित विभिन्न जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

वक्ताहरूले समाजमा शान्ति, भाइचारा र पारस्परिक विश्वास कायम राख्न सबै समुदायले संयम अपनाउनुपर्ने, अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहनुपर्ने तथा धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सहअस्तित्वको संस्कृतिलाई अझ सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

उल्लेखनीय छ, बिहीबार सम्भावित हिंसात्मक अवस्था नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जनकपुरधाममा कर्फ्यु आदेश जारी गरेको थियो। प्रदर्शनका क्रममा एक बालक घाइते भएपछि सुरक्षा सतर्कता बढाइएको थियो। यद्यपि पछिल्ला दिनमा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास पुनःस्थापित गर्ने उद्देश्यले प्रशासन तथा नागरिकस्तरबाट सद्भावमूलक गतिविधिहरूलाई प्राथमिकता दिइँदै आएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस