२०८३ श्रावण १६ गते, शनिबार ११:११

वीरगन्जमा व्यक्तिगत विवादमा हातपात गर्ने एक जना पक्राउ, घाइतेको प्रभु अस्पतालमा उपचार हुँदै

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकस्थित भित्री सडक खण्डमा साउन १५ गते साँझ व्यक्तिगत विवादका कारण कुटपिट हुँदा एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन १५ गते साँझ करिब ७:३५ बजे वीरगन्ज–२ ईदगाह चोक बस्ने १८ वर्षीय समीर अन्सारी र वीरगन्ज–१६ ईनर्वागाउँ बस्ने १८ वर्षीय रन्जित यादवबीच विगतको व्यक्तिगत विवादलाई लिएर हातपात भएको थियो।

कुटपिटबाट रन्जित यादवको ओठ र नाकमा चोट लागी घाइते भएपछि प्रहरीले उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित प्रभु अस्पताल पुर्‍याएको छ। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न समीर अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

सामाजिक सद्भाव बिथोल्ने समाचार नसम्प्रेषण गर्न प्रहरीको अपील

यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साले उक्त घटनालाई लिएर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने किसिमका भ्रामक समाचारहरू सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा घटनाको सत्यतथ्य पत्ता लगाई संलग्न व्यक्तिमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकिएको उल्लेख छ।

प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव कायम राखी सही र तथ्यपरक समाचार मात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी तथा आम जनसमुदायमा हार्दिक अपील गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस