२०८३ श्रावण १६ गते, शनिबार ११:५६

रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने चार युवा पक्राउ

वीरगन्ज-

​पर्साको वीरगन्जस्थित रानीघाट चोकमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरिरहेका हिन्दू संगठनसँग आबद्ध चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

​सार्वजनिक स्थानमा टायर बाल्ने र यातायात आवगमन प्रभावित हुने गरी सडक अवरुद्ध गर्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

​पक्राउ पर्नेहरूमा रानीघाट निवासी प्रदीप सराफ र विकास साह लगायत चार जना रहेका छन्।

​जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितको संयुक्त टोलीले उनीहरूलाई रानीघाट चोकबाटै नियन्त्रणमा लिएको हो।

​प्रहरी नियन्त्रणमा रहेका युवाहरूमाथि घटनाको प्रकृति र संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साथै, प्रदर्शनको मुख्य कारण र त्यसपछि उत्पन्न हुन सक्ने शान्ति-सुरक्षाको अवस्थाबारे पनि प्रहरीले सूक्ष्म जानकारी संकलन गरिरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस