२०८३ श्रावण १६ गते, शनिबार १३:२९

अफवाह र उत्तेजनापूर्ण सामग्री नफैलाउन पत्रकार महासंघ पर्साको आग्रह

वीरगन्ज –
नेपाल पत्रकार महासंघ पर्सा शाखाले देशका विभिन्न स्थानमा पछिल्ला दिनमा भएका दुःखद घटनापछि सामाजिक सद्भाव, शान्ति र कानुनी शासनलाई कमजोर पार्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत अफवाह, अपुष्ट सूचना र उत्तेजनापूर्ण सामग्रीको प्रचार–प्रसार बढिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

शनिबार जारी प्रेस विज्ञप्तिमार्फत महासंघले सुनसरी लगायत देशका विभिन्न जिल्लामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

महासंघले वर्तमान संवेदनशील परिस्थितिमा सञ्चार क्षेत्रको भूमिका अझ जिम्मेवार, सत्यनिष्ठ, संयमित र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै अपुष्ट सूचना, भ्रामक सामग्री, पुराना तस्बिर वा भिडियो जोडेर समाजमा भ्रम फैलाउने गतिविधिले सामाजिक सद्भाव, शान्ति, सुरक्षा तथा लोकतान्त्रिक मूल्य–मान्यतामा गम्भीर असर पुग्न सक्ने जनाएको छ।

विज्ञप्तिमा सम्पूर्ण सञ्चारकर्मीलाई समाचार प्रकाशन तथा प्रसारणअघि तथ्यको पर्याप्त पुष्टि गर्न, आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन तथा हिंसा, द्वेष, उत्तेजना वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि सामग्रीको प्रचार–प्रसार नगर्न आग्रह गरिएको छ। पत्रकारिताको आधारभूत मूल्य-मान्यता, सत्यता, निष्पक्षता, व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राखेर जिम्मेवार पत्रकारिता गर्न महासंघले आह्वान गरेको छ।

महासंघले वर्तमान परिस्थितिको समाधान बल प्रयोग, उत्तेजना वा अफवाहबाट नभई संवाद, सहिष्णुता, कानुनी प्रक्रिया र आपसी समझदारीमार्फत खोजिनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ। सामाजिक शान्ति र कानुनी शासनको संरक्षण गर्दै उत्पन्न परिस्थितिको दीर्घकालीन समाधानका लागि नेपाल सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाबीच समन्वय, जिम्मेवारी र सहकार्य आवश्यक रहेको महासंघको भनाइ छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतो द्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चार क्षेत्रलाई सामाजिक एकता, सद्भाव र जिम्मेवार सूचना प्रवाहको माध्यम बनाउन सबै पत्रकार तथा सञ्चार संस्थालाई संवेदनशील र व्यावसायिक भूमिका निर्वाह गर्न विशेष आग्रह गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस