२०८३ श्रावण १८ गते, सोमबार १२:०८

सुरक्षा सतर्कताबीच सप्तरीमा कर्फ्यु कायमै, अत्यावश्यक सामग्री खरिदका लागि चार घण्टा मात्र सहुलियत

सप्तरी –

जिल्लाको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले सप्तरीमा जारी कर्फ्यु आदेशलाई कायमै राखेको छ। शान्ति–सुव्यवस्था कायम राख्ने र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएका बेला सर्वसाधारणको दैनिक आवश्यकतालाई समेत ध्यानमा राखी प्रशासनले अत्यावश्यक सामग्री खरिद–बिक्रीका लागि आज बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र कर्फ्यु खुकुलो बनाएको हो।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार तोकिएको समयभित्र नागरिकले दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्नेछन्। तर निर्धारित समय समाप्त भएपछि कर्फ्यु पूर्ण रूपमा लागू हुने भएकाले सबैलाई आदेशको पालना गर्न प्रशासनले आग्रह गरेको छ।

प्रशासनले कार्यालयको पूर्वअनुमति लिएर सद्भाव र्‍याली सञ्चालन गर्नुपर्ने अवस्थालाई समेत ध्यानमा राख्दै सो प्रयोजनका लागि कर्फ्यु आदेशमा सीमित समयका लागि सहुलियत प्रदान गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कर्फ्यु खुकुलो पारिएको अवधिमा हुलदंगा, अशान्ति फैलाउने वा अन्य कुनै उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।

जिल्ला प्रशासनले पछिल्ला दिनहरूमा उत्पन्न संवेदनशील सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा निकायसँग समन्वय गरी निगरानी तथा गस्तीलाई समेत सुदृढ बनाएको जनाएको छ। प्रशासनका अनुसार नागरिकको सुरक्षा सुनिश्चित गर्दै सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम राख्नु नै कर्फ्यु आदेशको मुख्य उद्देश्य हो।

उल्लेखनीय छ, सप्तरीको बोदेबरसाइन क्षेत्रमा गत साउन १४ गते राति १० बजेदेखि तथा राजविराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीको आदेशमा कर्फ्यु लागू गरिएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस