२०८३ श्रावण १७ गते, आईतवार ११:१६

अद्भुत खोज: विश्वकै दुर्लभ माछा, जसको मस्तिष्क बाहिरबाटै देखिन्छ

एजेन्सी ।

वैज्ञानिकहरूले हालै अमेरिकाको अलाबामा राज्यस्थित एउटा गुफाबाट नयाँ प्रजातिको अनौठो माछा फेला पारेका छन्। ‘डेमन गुफा माछा’ (Demon Cavefish) नाम दिइएको यो जीव विश्वकै सबैभन्दा दुर्लभ माछामध्ये एक हुन सक्ने अनुसन्धानकर्ताहरूको विश्वास छ।

अलाबामाको हन्ट्सभिल नजिक रहेको बबक्याट गुफा (Bobcat Cave) मा सर्वेक्षणका क्रममा अलाबामा गुफा झिंगा, दुई प्रजातिका गुफा क्रेफिस र दक्षिणी गुफा माछा मात्र भेटिने अपेक्षा गरेका वैज्ञानिकहरूले विज्ञानमा अहिलेसम्म अभिलेख नभएको यो नयाँ माछा फेला पारेका हुन्।

अनुसन्धान टोलीका प्रमुख तथा अलाबामा विश्वविद्यालय, हन्ट्सभिलका जीवविज्ञानका सहप्राध्यापक डा. म्याथ्यु निमिलरका अनुसार यो माछा अत्यन्तै दुर्लभ हुन सक्छ।

यो माछाको सबैभन्दा ठूलो विशेषता भनेको यसमा आँखा हुँदैन, शरीरमा कुनै पनि रङ्गद्रव्य (पिग्मेन्ट) हुँदैन र यसको छाला यति पारदर्शी छ कि मस्तिष्कसमेत बाहिरबाट देख्न सकिन्छ।

यसको शरीर कुब्जो जस्तो देखिने, काँडेदार पखेटा तथा अन्य गुफा माछाभन्दा फरक आकारको थुतुनो रहेको छ।

अनुसन्धानका सहलेखक तथा अलाबामास्थित अवर्न विश्वविद्यालय प्राकृतिक इतिहास सङ्ग्रहालयका माछा विज्ञ डा. जोनाथन आर्मब्रुस्टरका अनुसार यस्ता पारदर्शी शरीर भएका साना माछा अन्यत्र पनि पाइन्छन्, तर यस प्रजातिको बनावट भने निकै असामान्य छ।

‘स्ट्रेन्जर थिङ्स’बाट प्रेरित नाम

यो जीव विज्ञान–कथामा देखिने रहस्यमय प्राणीझैँ देखिएकाले वैज्ञानिकहरूले यसको वैज्ञानिक नाम ‘डेमोगोर्गोनिक्थिस आर्कानस’ (Demogorgonichthys arcanus) राखेका छन्। यसको नाम नेटफ्लिक्सको चर्चित शृङ्खला ‘स्ट्रेन्जर थिङ्स’ मा देखिने राक्षस ‘डेमोगोर्गन’ बाट प्रेरित भएको हो।

सुरुमा यो दक्षिणी गुफा माछाकै फरक स्वरूप हो कि भन्ने आशंका गरिएको थियो। तर सीटी स्क्यान, आनुवंशिक परीक्षण र अस्थिपञ्जरको विस्तृत अध्ययन पछि यो पूर्ण रूपमा नयाँ वंश (Genus) र प्रजाति (Species) भएको पुष्टि भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

विश्वकै दुर्लभ माछामध्ये एक

वैज्ञानिकहरूका अनुसार यो माछा हालसम्म बबक्याट गुफाको एउटै स्थानमा मात्र फेला परेको छ। यसको सङ्ख्या कति छ भन्ने यकिन नभए पनि जनसंख्या अत्यन्तै सानो रहेको अनुमान गरिएको छ। त्यसैले यो विश्वकै सबैभन्दा दुर्लभ माछामध्ये एक हुन सक्ने विश्वास गरिएको हो।

यो अनुसन्धान जुलाई ६ मा ‘साइन्टिफिक रिपोर्ट्स’ (Scientific Reports) नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको थियो।

अझै धेरै रहस्य बाँकी

वैज्ञानिकहरूलाई अझैसम्म यो माछाको भाले–पोथी छुट्याउने आधार, प्रजनन प्रक्रिया वा जीवनचक्रबारे कुनै जानकारी छैन। यसको आहारका बारेमा भने मुखमा अट्ने साना जीवजन्तु खाने अनुमान गरिएको छ।

थप नयाँ प्रजाति भेटिन सक्ने संकेत

अनुसन्धानकर्ताहरूका अनुसार यस खोजले अत्यधिक अध्ययन गरिएका क्षेत्रमै पनि अझै अज्ञात जीव–प्रजाति लुकेर बसिरहेको सम्भावना देखाएको छ। यो गुफा अमेरिकी सेनाको रेडस्टोन आर्सेनल सैन्य क्षेत्रमुनि रहेको भएकाले त्यहाँको पहुँच सीमित छ।

मिनेसोटा विश्वविद्यालयकी गुफा माछाको विकासक्रम अध्ययन गर्ने प्राध्यापक डा. सुजेन म्याकगाउका अनुसार उत्तर अमेरिकामा कशेरुकी जनावरको नयाँ प्रजाति फेला पर्नु अत्यन्तै दुर्लभ घटना हो।

उनका अनुसार एउटै गुफामा फरक–फरक पूर्वजबाट विकसित भएका दुई अलग गुफा माछा प्रजाति सँगै बस्नु आफैँमा वैज्ञानिक दृष्टिले निकै रोचक विषय हो।

संकटग्रस्त भए पनि संरक्षणको आशा

हालसम्म गरिएको पछिल्लो सर्वेक्षणमा वैज्ञानिकहरूले २७ वटा डेमन गुफा माछा देखेका थिए। यद्यपि यो सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व नगर्न सक्ने उनीहरूको भनाइ छ।

यस गुफामा पुग्ने भूगर्भीय पानीको स्रोत निकै सानो भएकाले यो प्रजाति अत्यन्त संकटापन्न (Critically Endangered) अवस्थामा रहेको अनुमान गरिएको छ। तर गुफा आसपासको पानीको गुणस्तर संरक्षणका लागि पहिले नै कडा व्यवस्था रहेकाले निकट भविष्यमा यो प्रजाति पूर्ण रूपमा लोप हुने सम्भावना कम रहेको वैज्ञानिकहरूको विश्वास छ।

वैज्ञानिकहरूका अनुसार गुफामा बस्ने यस्ता जीवहरू वातावरणीय प्रदूषणको प्रारम्भिक संकेत दिने ‘कोइलाखानीको क्यानरी’ जस्तै हुन्। यदि यिनको सङ्ख्या घट्न थाल्यो भने भूगर्भीय पानी प्रदूषित भएको संकेत हुन सक्छ।

अनुसन्धानकर्ताहरूको भनाइमा, यस्ता नयाँ प्रजातिको पहिचानले पृथ्वीको जैविक विविधता संरक्षण र मानव अस्तित्वका लागि आवश्यक प्राकृतिक प्रणाली बुझ्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।सिएनएन

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस