२०८३ श्रावण १७ गते, आईतवार १२:३१

पर्सा-बाराका साना नदीमा आज आकस्मिक बाढीको जोखिम, नदी किनार र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

वीरगन्ज

लगातारको वर्षासँगै पर्सा र बाराका साना नदी तथा खोलामा आज आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार पर्सा–बारासहित देशका ३७ जिल्लामा पर्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। वर्षा निरन्तर भइरहेकाले नदी किनार, तटीय बस्ती तथा डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

पर्सा र बाराका विभिन्न खोला तथा नदीमा अचानक पानीको सतह बढ्न सक्ने भएकाले नदी तर्ने, माछा मार्ने तथा नदीजन्य गतिविधि नगर्न महाशाखाले सचेत गराएको छ। स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनमा संलग्न निकायलाई पनि सम्भावित जोखिमको सामना गर्न तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

महाशाखाका अनुसार आज संखुवासभा, सोलुखुम्बु, दोलखा, काठमाडौं उपत्यका, मकवानपुर, पर्सा, बारा, चितवन, गोरखा, कास्की, रुपन्देही, कैलाली, कञ्चनपुरलगायत ३७ जिल्लाका साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यस्तै, त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दी जस्ता ठूला नदीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले पछिल्ला मौसम तथा बाढीसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन र अनावश्यक रूपमा नदी तथा जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस